पाल्पामा ५० हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको दुवै डोज खोप
पाल्पा । पाल्पामा ५० हजारभन्दा बढीले कोरोना विरुद्धको दुवै डोज खोप लगाएका छन् ।
जिल्लामा ५० हजार ७ सय ७० जनाले दुवै मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यो सङ्ख्या १८ वर्षमाथिका कुल जनसङ्ख्याको ३५ प्रतिशत बढी हो ।
पाल्पामा १८ वर्षमाथिका एक लाख ४३ हजार ६ सय १० जनाले खोप लगाउनुपर्ने तथ्याङ्क रहेको छ ।
पाल्पामा सबैभन्दा बढी खोप तानसेन नगरपालिका भित्रका नागरिकले लगाएका छन् ।
तानसेनमा १८ वर्ष माथिका ५० प्रतिशत बढी जनसङ्ख्याले कोरोनाका दुवै डोज खोप लगाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
कोरोनाको दुवै डोजका खोप लगाउनेमा तानसेन नगरपालिकाका १६ हजार ३ सय ६१ जना, रामपुर नगरपालिकाका ६ हजार ३ सय ९४ जना, निस्दी गाउँपालिकाका ३ हजार ८३ जना रहेका छन् ।
यस्तै पूर्वखोला गाउँपालिकाका २ हजार ९ सय ६८ जना, रम्भा गाउँपालिकाका ३ हजार ५ सय २५ जना, माथागढी गाउँपालिकाका ३ हजार ४ सय १८ जना रहेका छन् ।
बगनासकाली गाउँपालिकाका ४ हजार ४ सय ९ जना, तिनाउ गाउँपालिकाका २ हजार ५ सय ५८ जना, रैनादेवी छहरा गाउँपालिकाका ४ हजार ३ सय ४१ जना र रिब्दीकोट गाउँपालिकाका ३ हजार ७ सय १३ जनाले कोरोना विरुद्धको दुवै खोप लगाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो ।
जिल्लामा ५० बर्ष भन्दा कम उमेर समूहका नागरिकले पनि खोप पाउने तयारी भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्