तपाईँ सुन्दै हुनुहुन्छः

चार पटक म्याद सकियो तर बनेन पुल

तनहुँ । वि.स २०७५ असार २९ गते निर्माण सम्पन्न हुनुपर्ने पुल अझै पनि पुरा हुन सकेको छैन । तनहुँको भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई जोड्ने गरी दोभानमा निर्माण थालिएको यो पुल अझैसम्म अलपत्र अवस्थामा छ । विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले आलटाल गर्दा पुल निर्माणको म्याद चार पटकसम्म टरिसकेको छ । केही भौतिक संरचना निर्माण भएको यो पुलको पछिल्लो म्याद गत भदौ ९ गते सकिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । 

वि.स . २०७२ असार ३० गते चितवनको एडभेन्चर कन्स्ट्रक्सन निर्माणका लागी सम्झौता भएको यो पुल समय मै नबन्ने भएपछि दोस्रो पटक २०७६ चैत १५ सम्म, तेस्रो पटक २०७७ फागुन ९  र चौथो पटक २०७८ भदौ ९ सम्म म्याद थप गरिएको थियो । 

पटक पटक म्याद थप्दा समेत निर्माण हुन नसकेको यो पुल बन्न अझै केही वर्ष लाग्ने देखिन्छ । कछुवा गतिमा काम भएको पुल निर्माण स्थलमा अहिलेसम्म तीन वटा पिल्लर बनेको छ भने अझै नदीको बीच भागमा एक पिल्लर बन्न बाँकी रहेको जनाइएको छ । भूकम्प, नाकाबन्दी, बाढी र महामारीका कारण पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले बताए पनि स्थानीयले भने सहज स्थितिमा समेत काम हुन नसकेको गुनासो गर्ने गरेका छन् । 

नदी वारपार गर्न बर्षाै देखि झोलुङ्गे पुलको विकल्प महसुस गर्न नपाएका भिमाद ८ भागरका स्थानीय प्रेमबहादुर थापाले बर्षेनी बर्खा लागेसँग आफूहरू यातायात सञ्जालको सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गर्नुहुन्छ । ‘अधुरो पुल हेर्दै झोलुङ्गे पुलबाट बाइक स्कुटर तार्नुपर्छ’, उहाँले भन्नुभयो, ‘सवारी चलाउने र पुल तर्ने पैदल यात्रीलाई जोखिम छ । धेरै पटक दुर्घटना पनि हुन्छ ।’ पुल नबन्दा सेती पारीको समग्र विकासको ढोका नखुलेको थापाको भनाई छ । 

पुलको काम समयमै सक्न सरोकारवालालाई पटक–पटक झकझकाए पनि सुनुवाइ नभएको भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठले बताउनुभयो ।  उहाँले पृथ्वीराज मार्गको छेवैमा रहेका नागरिकको सडक सञ्जालमा सजिलै पहुँच नुहुनु विडम्बना रहेको बताउनुभयो । 

कोरोनाले प्रभावित निर्माणाधीन आयोजनालाई ६ महिना म्याद थप्ने सरकारको निर्णय अनुसार दोभानको पुलको पनि म्याद थप हुन सक्ने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख सिनियर डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठले बताउनुभयो । तर, कार्यविधि स्पष्ट नभएकाले म्याद थप हुने नहुने अन्यौलता नै रहेको उहाँको भनाई छ । यदि सरकारको निर्णय अनुसार स्वतः म्याद थप नभएको अवस्थामा १५ असोज अगावै निर्माण कम्पनीले काम नथाले कारबाहीको प्रक्रिया थाल्ने उहाँले बताए । 

हालसम्म ६५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । आठ करोड ८० लाख ५० हजार ८ सय ८३ रुपैयाँमा भ्याटबाहेक पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पाँच करोड ४२ लाख ४ हजार ६ सय ८६ रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गरिएको छ । यो वर्षको बजेटमा सङ्घीय सरकारले पुल निर्माणका लागी एक करोड रुपैयाँ बजेट विनियोजन गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

समयमै पुल निर्माण नहुँदा सेती पारी तनहुँको भिमाद नगरपालिका, शुक्लागण्डकी र स्याङ्जाको हरिनास गाउँपालिकाका स्थानीय प्रभावित छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button