तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी चितवनको रत्ननगर अस्पतालमा मिर्गौलाको सफल शल्यक्रिया

चितवन । बकुलहर रत्ननगर अस्पतालमा मिर्गौलाको सफल शल्यक्रिया गरिएको छ । राप्ती नगरपालिका गड्यौलीकी ५५ वर्षीय सिता राईको खराब भएर काम नगर्ने अवस्थामा रहेको एउटा मिर्गौलालाई बिहीबार शल्यक्रिया गरेर निकालिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विश्वबन्धु बगालेले जानकारी दिनुभयो ।

अस्पतालमा पहिलो पटक डाक्टर सरोज गिरीको नेतृत्वमा,डाक्टर दिपेन्द्र कुमार मल्लीक,डाक्टर अस्मिता पौडेल,चिनमाया श्रेष्ठ,समिता थनेत लगायतको टोलीले राईको सफल शल्यक्रिया गरेको हो । 

पछिल्लो समय आफ्नो सेवा विस्तारमा फड्को मार्दै आइरहेको अस्पतालले सेवा विस्तारलाई निरन्तरता दिँदै जटिल मानिने मिर्गौलाको शल्यक्रिया गर्न पनि सुरुवात गरेको डाक्टर गिरीले जानकारी दिनुभयो । लामो समयदेखि मिर्गौलाका बिरामीको डायलिसिस गर्दै आइरहेको अस्पतालले डायलिसिसको लागि चाहिने एबी फिस्टुला बनाउने सेवा पनि सुरु गरेको डाक्टर गिरीले बताउनु भयो ।

पूर्वी चितवनका ४ नगरपालिकालाई लक्षित गर्दै सेवा दिइरहेको बकुलहर रत्ननगर अस्पतालले एक वर्ष अघि शल्यक्रिया सेवा सुरु गरेको थियो । अस्पतालले हाल बिरामीलाई पित्तथैली, एपेन्डीस,पत्थरी, हर्निया,आन्द्रा लगायतको शल्यक्रिया सेवा दिँदै आइरहेको र पित्त थैलीको क्यान्सरको शल्यक्रिया,नशाको शल्यक्रिया लगायतको सेवा पनि थप्ने तयारी गरिरहेको छ । छिट्टै आइसियु, पीआईसीयू र एनआईसीयू सञ्चालनमा गर्ने तयारी गरिरहेको अस्पतालले दैनिक छ सय भन्दा बढी बिरामीलाई सेवा दिइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button