तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा निषेधाज्ञा हटेपछि शिक्षण संस्थाहरू खोल्ने तयारी

जनकपुरधाम  । धनुषाका स्थानीय प्रशासनले कोरोना महामारीका कारणले वैशाख २१ गतेदेखि लगाउँदै आएको निषेधाज्ञा आदेश आजबाट हटाएपछि धनुषाका शिक्षण संस्थाहरू खोल्ने तयारी सुरु भएको छ । 

कतिपय पालिकाहरूले शिक्षण संस्थाहरू पहिला नै खुल्ला गरे पनि कलेज, कोचिङ, लोकसेवा आयोगको तयारी कक्षाहरू बन्द रहेका थिए । 

त्रिभुवन विश्व विद्यालयले पनि भौतिक रुपमा नै विद्यार्थीको उपस्थितिमा पठनपाठन सुरुआत गर्नका लागि आग्रह गरेपछि कलेजहरू सरसफाइ पर्ने काम सुरु भएको छ । 

आज  विश्वकर्मा पूजा पनि भएका कारणले कलेजहरू खुल्ला नगरे पनि दुई दिन सरसफाइ गरेर आइतबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन सुचारु गर्ने तयारी भइरहेको जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसले जनाएको छ । 

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस तथा निजी क्षेत्रका कलेजहरू पनि सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । 

हाल कक्षा १२ को परीक्षा सुरु भइरहेको छ भने कक्षा १२ को परीक्षासँगै अन्य कलेजहरू खुल्ला हुने भएपछि विद्यार्थीहरू उत्साहित भएका छन् । 

लामो समयसम्म प्रत्यक्ष रुपमा पढ्नबाट वञ्चित भएका विद्यार्थीहरू अहिले गाउँबाट सहरी क्षेत्रमा फर्किने क्रम सुरु भएको छ । 

शिक्षण संस्थाहरूले अहिले अनलाइन कक्षा लिए पनि प्रभावकारी नबनेपछि प्रत्यक्ष रुपमा कक्षा सञ्चालन गरिन लागेको छ । 

धेरै विद्यार्थीहरूसँग इन्टरनेट तथा अन्य प्रकारको सुविधाको अभाव रहेका थिए । त्यस कारणले पनि सिकाई प्रभावकारी हुन सकेका थिएन । 

अव विद्यार्थीहरू भौतिक रुपमा नै उपस्थित भएर पढ्न पाउने भएपछि विद्यार्थी तथा अभिभावहरू खुसी भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button