सदन सुचारु गर्न प्रतिपक्षीसँग सहमति आवश्यक छ : कानुन मन्त्री

विराटनगर । कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राजनीतिक सहमतिको आधारमा सदन सुचारु गर्ने पक्षमा सरकार रहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री कार्कीले निर्बाध रूपले सदन सञ्चालनका लागि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भइरहेको बताउनुभयो । संसद् अवरुद्ध गरेर फाइदा नहुने भन्नुहुँदै मन्त्री कार्कीले संसद् सुचारु गर्नका लागि आफूले पनि एमाले अध्यक्ष ओलीसँग छलफल गरिरहेको बताउनुभयो ।

सहमतिको आधारमा मुलुकलाई अगाडी बढाउन आफूहरूले चाहेको भन्नुहुँदै उहाँले आगामी असोज ४ गते बस्ने सदनको बैठकमा प्रमुख प्रतिपक्षी दलको सहमतिमा बजेट पारित गरिने विश्वास व्यक्त गर्नुभयो ।
बाध्यात्मक परिस्थितका कारण बजेट लकडाउन भएको र त्यसलाई हटाउन पनि बजेट पारित हुनु आवश्यक रहेको उहाँले बताउनुभयो । एक प्रश्नमा उहाँले एमसिसी विकास परियोजना नेपालको इतिहासमै सबैभन्दा ठुलो अनुदान सहयोगको परियोजना हो भन्नुहुँदै यो परियोजनामा राजनीतिकरण गर्न नुहुने बताउनुभयो । ‘यो परियोजना नेपालको हितमा रहेकाले परियोजनामा राजनीति गर्न हुँदैन’, उहाँको भनाई थियो ।








प्रतिक्रिया राख्नुहोस्