स्रोत नखुलेको ३८ लाख ५१ हजार सहित दुई जना पक्राउ

बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजस्थित केपी ज्वेलर्समा छापमारी स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बुधवार साँझ वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ लिङ्क रोड घण्टाघरस्थित केपी ज्वेलर्समा छापामारी श्रोत खुल्न नसकेको ३८ लाख ५१ हजार रुपैयाँसहित ज्वेलर्सका सञ्चालक ४५ वर्षीय कन्हैयाप्रसाद सोनार र कर्मचारी २० वर्षीय दीपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक एवं प्रवक्ता ओम प्रकाश खनालले बताउनुभयो ।
अवैध रुपमा ज्वेलर्सभित्र हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापामारी स्रोत नखुलेको नगद बराबद गरेको खनालले बताउनुभयो ।
पक्राउ परेका दुबैलाई बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको खनालले बताउनुभयो ।
यसअघि प्रहरीले २०७६ साल असारमा पनि केपी ज्वेलर्समा छापा मारी स्रोत नखुलेको ४१ लाख ९२ हजार ९ सय रुपैयाँ नगद र २ किलो ९० ग्राम चाँदीसहित ८ जना अभियुक्तलाई पक्राउ गरेको थियो ।
सो समयमा पसलका सञ्चालक कन्हैया प्रसाद सोनार फरार भएको र यस पटक भने उनी फेरि रंगेहात समातिएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्