घरपरिवार सूचीकरणमा खटिए ८ हजार ५ सय सुपरिवेक्षक

काठमाडौँ । यस पटकको राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणना बुधवारबाट सुरु भएको छ ।
१२ औँ राष्ट्रिय जनगणनाका लागि देशैभरि सुपरीवेक्षकहरूले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने काम सुरु गरेका छन् ।
बुधवारदेखि सुरु भएको १२ औँ राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणको अन्तर्गत घर तथा घरपरिवार सूचीकरणको काम भइरहेको छ ।
२० दिनसम्म सञ्चालन हुने यस कार्यका लागि देशभरि ८ हजार ५ सय जना सुपरिवेक्षक परिचालन गरिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।
यसैगरी आगामी कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने जनगणनाको दोस्रो तथा अन्तिम चरणका लागि करिब ३९ हजार गणक खटिने छन् ।
गणनाका क्रममा सही तथ्याङ्क सङ्कलन हुने सुनिश्चितताका लागि जनगणनालाई दुई चरणमा विभाजन गरी सञ्चालन गरिने तथ्याङ्क विभागले जनाएको छ ।
यसले तथ्याङ्क सङ्कलनका क्रममा दोहोरिने वा छुट्न सक्ने सम्भावना समेत कम हुने बताउनुहुन्छ केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबीन श्रेष्ठले जानकारी दिनुभयो ।
गणकहरूलाई मूल गणनाको समयमा सही तथ्याङ्क सङ्कलन गर्न सहज होस् र कार्य विभाजनमा अप्ठ्यारो नपरोस् भन्नका लागि पनि जनगणनालाई दुई चरणमा विभाजन गरी कार्य गरिने तथ्याङ्क विभागले जनाएको छ ।
यस्तो अभ्यास नेपालमा मात्र नभएर जनगणना गरिने अन्य मुलुकमा पनि गर्ने गरिन्छ । यसरी गरिएको सूचीकरणका आधारमा नै जनगणना सकिएको छ महिनापछि कृषि गणना गरिने भएकाले पनि यो आवश्यक रहेको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
यसरी गरिएको घर तथा घरपरिवार सूचीकरणमा सहयोग गर्न सबै उत्तरदातालाई अनुरोध गर्दै सबैलाई जनगणनाको अपनत्व लिइदिन तथा सबैलाई अनिवार्य सहभागी बनाउन आवश्यक सहयोग र समन्वयका लागि केन्द्रीय तथ्याङ्क विभागले अनुरोध गरेको छ ।
देश विकासको मेरुदण्डको रुपमा रहेको जनगणनामा आउने सुपरिवेक्षक र गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनु हामी सबैको दायित्व हो ।
त्यसैले, यस पटकको जनगणनामा सबैको सहभागिता रहोस् भनेर मेरो जनगणना, मेरो सहभागिता भन्ने नारा तय गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्