तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला प्रशासन कार्यालय धनुषाले भोलि देखि सेवा विस्तार गर्दै

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषामा सेवाग्राहीको सङ्ख्या बढेपछि कार्यालयले सेवा दिने पालिकाको सङ्ख्या तथा दिन भोलि देखि बढाउन लागेको छ । 

असोज १ गते देखि एक दिनमा ६ वटा पालिकाका सेवाग्राहीलाई सेवा दिन लागेको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । आइतबार र सोमवार धनुषाको क्षिरेश्वरनाथ, धनुषाधाम, नगराईन, गणेशमान चारनाथ नगरपालिका तथा लक्ष्मीनिया गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिनुभयो । 

यसै गरी मङ्गलवार र बुधवार मिथिला, सवैला, हंशपुर नगरपालिका तथा वटेश्वर र औरही गाउँपालिकाका सेवाग्राहीहरुलाई जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गर्ने भएको छ । बिहीबार र शुक्रवार शहिदनगर, कमला, विदेह, जनकपुरधाम उपमहानगरपालिका तथा धनौजी एवं जनकनन्दनी गाउँपालिकालाई सेवा प्रदान गरिने भएको छ । 

विगत केही दिन यता सेवामा सुधार गरेर तीव्रता दिने काम भएको र एसइई परीक्षा दिएर नागरिकता तथा मधेसी प्रमाणित गर्नेको सङ्ख्यामा कमी भएपछि अहिले सेवाग्राहीको भिडमा पनि कमी आएको छ । 

कोरोनाको अवस्था सामान्य भएको खण्डमा असोज पछि सेवालाई सामान्य प्रदान गरेर सबै दिन सबै पालिकाका नागरिकलाई प्रदान गर्ने पक्षमा जिल्ला प्रशासन कार्यालय धनुषा रहेको छ । 

सेवा दिने पालिकाको सङ्ख्या तथा अवधि थप गरेपछि सेवा लिने सेवाग्राहीलाई हुने गरेको समस्यामा कमी आउने विश्वास गरिएको छ । पहिला हप्तामा एक दिन पर्दा काम नभ्याएपछि सेवाग्राही अर्को हप्ता कुर्नु पर्ने बाध्यता रहेका थिए ।  

जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि, राहदानी, संस्था दर्ता, नवीकरण, बन्दुक नवीकरण, पत्रपत्रिका दर्ता, ठाडो उजुरी तथा अन्य प्रकारका प्रशासनिक कामकाज गर्दै आएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button