तपाईँ सुन्दै हुनुहुन्छः

अर्काको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । 

पर्सागढी नगरपालिका ४ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा सन्दीप दास थारुको परीक्षा दिने नक्कली परीक्षार्थी राजकुमार दासलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो । 

विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेश पत्र लिएर राजकुमारले परीक्षा दिइरहेको अवस्थामा राजकुमारलाई पक्राउ गरिएको पाण्डेले बताउनुभयो । 

प्रवेश पत्रमा सन्दीपको फोटो उप्काएर राजकुमारको टाँसिएको अवस्थामा भेटिएको एसपी पाण्डेले बताउनुभयो । 

सन्दीप र राजकुमार पर्सागढी नगरपालिका वडा नम्बर ८ का स्थानीय बासिन्दा हुन् । यस वर्षको कक्षा १२ को परीक्षा आज बाटै शुरु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button