नेपाल र विश्व बैङ्कबीच दुई छुट्टाछुट्टै विकास कार्यक्रमको सहयोग सम्झौता
काठमाडौँ । विश्व बैङ्कले नेपालको स्वास्थ्य र शिक्षासँग सम्बन्धी दुई छुट्टाछुट्टै विकास कार्यक्रमको कार्यान्वयनमा सघाउनका लागि अतिरिक्त वित्तीय सहयोग अन्तर्गत ११ अर्ब ७५ करोड सहयोग उपलब्ध गराउने भएको छ ।
सो सहयोग सम्बन्धी सम्झौतामा बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा विश्व बैङ्कका नेपालका लागि देशीय निर्देशक फेरिस् हदाद जार्वोसले हस्ताक्षर गर्नुभयो ।
नेपाल सरकारको प्राथमिकतामा रहेका विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक व्यवस्थापन सुधार कार्यक्रमको कार्यान्वयनका लागि पाँच करोड अमेरिकी डलर बराबरका दुई छुट्टाछुट्टै अतिरिक्त वित्तीय सहयोग सम्झौतामा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले कोरोनाका कारण प्रभावित नेपालको स्वास्थ्य तथा शिक्षा प्रणालीको उत्थानशील पुनर्निर्माणको लागि सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि विश्व बैङ्कका देशीय निर्देशक फेरिस् हदाद जार्वोेसले सहयोग तथा सहकार्यले नेपालको शिक्षा तथा स्वास्थ्यको प्रणालीलाई समावेशी र उत्थानशील बनाई नेपालको हरित तथा पुनरउत्थानशिल विकास कार्यलाई गतिशील बनाउन सकिने बताउनुभयो ।
विश्व बैङ्कले उपलब्ध गराएको उक्त थप सहयोगले नेपालको, विपन्न वर्गतर्फ लक्षित छात्रवृत्ति, विज्ञान छात्रवृत्ति तथा छुटेको सिकाई आपुरण कार्यक्रमको माध्यमबाट विद्यालयको पढाइ बीचमै छोड्ने विद्यार्थीको सङ्ख्या घटाउन र गुमेको सिकाइको पुर्नप्राप्तिको लागि महत्त्वपूर्ण सहयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्