तपाईँ सुन्दै हुनुहुन्छः

गुडिरहेको बसमा माथिबाट ढुङ्गा खस्दा एक जना यात्रुको मृत्यु

बैतडी । बैतडीमा गुडिरहेको बसमा सडक माथिबाट ढुङ्गा खस्दा एक जना यात्रुको मृत्यु भएको छ । 

जिल्लाको पाटन नगरपालिका ८ झौलेकमा गुडिरहेको बसमा सडकमाथिबाट खसेको ढुङ्गा लागेर बसमा सवार बझाङको थलारा गाउँपालिका वडा नं ५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । 

महेन्द्रनगरबाट बझाङका लागि छुटेको सु.प.प्र.२००१ ख ११५६ नम्बरको बसमा मङ्गलवार बिहान साढे दुई बजेतिर जय पृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडक खण्डको झौलेकमा सडक माथिबाट ढुङ्गा खसेको हो । ढुङ्गा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताउनुभयो  । 

गुडिरहेको बसमा सडक माथिबाट खसेको ठूलो ढुङ्गा बसभित्र पसेको बताइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button