तपाईँ सुन्दै हुनुहुन्छः

पर्साका १४ स्थानीय तहमा २ अर्ब ५० करोड भन्दा बढी रकम बेरुजु

वीरगन्ज । पर्साका १४ वटा स्थानीय तहले एक आर्थिक वर्षमै २ अर्ब ५० करोड भन्दा बढी रकम बेरुजु भएको महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आर्थिक बर्ष २०७६/२०७७ को लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ७८ औ प्रतिवेदनमा पर्साका १४ स्थानीय तहहरूमा २ अर्ब ५० करोड भन्दा बढी बेरुजु रकम देखाएको हो । 

स्थानीय सरकार गठन भएसँगै स्थानीय तहले सञ्चालन गर्दै आएको काम तथा सोको खर्चको लेखापरीक्षण प्रत्येक बर्ष महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गर्दै आएको छ । हाल निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको अवधि चैत्र मसान्त सम्म रहेको छ । 

महालेखाको प्रतिवेदन अनुसार पर्सामा एक महानगर, ३ नगरपालिका तथा १० वटा गाउँपालिकामध्ये वीरगन्ज महानगरपालिकामा आर्थिक बर्ष २०७६/२०७७ मा ७५ करोड ६९ लाख, पोखरिया नगरपालिकामा ९ करोड ९० लाख, बहुदरमाई नपामा १४ करोड ७७ लाख, पर्सागढी नपामा ५ करोड १७ लाख बेरुजु रकम रहेको छ । 

त्यसैगरि जगरनाथपुर गाउँपालिकामा २० करोड ७३ लाख, ठोरी गाउँपालिकामा ११ करोड ५८ लाख, छिपहरमाई गाउँपालिकामा ९ करोड १५ लाख, धोवीनि गाउँपालिकमा १० करोड ३१ लाख, जिराभवानीमा ३ करोड १ लाख, कालिकामाईमा ५ करोड ४० लाख, पकहामैनपुरमा १ करोड १७ लाख, पटेर्वासुगौलीमा ६ करोड४८ लाख, बिन्दबासनीमा ५ करोड ९५ लाख, सखुवाप्रसौनीमा १३ करोड ३१ लाख गरी २ अर्ब ५० करोड बेरुजु रकम आर्थिक बर्ष २०७६/०७७ मा रहेको पाइएको छ । 

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ७८ औ प्रतिवेदनमा नियम विपरीत भुक्तानी, अनावश्यक जिन्सी सामान खरिद, कर्मचारी तथा जनप्रतिनिधीहरुले पेस्की वा कुनै समान खरिद गर्नै बहानामा रकम लिई काम नगरेको निर्माण कम्पनी वा सप्लायरहरुलाई सिधा भुक्तानी दिएको नियम सङ्गत नमिल्ने तर ठाडो आदेशमा सिधा भुक्तानी दिएकोले बेरुजु रकम बर्षेनी बढ्दै गइरहेको भेटिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button