समयमा घर बनाउन रकम निकासा नहुँदा मुक्त हलियाहरु समस्यामा

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पुनः स्थापन कार्यक्रम अन्तर्गत जग्गा प्राप्त गरेका मुक्तहलिया परिवार घर निर्माणका लागि आवश्यक रकम पाउन सकेका छैनन् । पटक पटक नगरपालिका कार्यालय पुगे पनि मुक्तहलिया परिवारले घर निर्माणका लागि आश्वासन बाहेक रकम पाउन नसकेको बताएका छन् ।
भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया पुनः स्थापन कार्यक्रम अन्तर्गतको वित्तीय हस्तान्तरणसहितको अधिकार स्थानीय तहलाई दिएको छ । आर्थिक वर्ष २०७७/७८ मा मुक्तहलिया पुनः स्थापनका लागि नगरपालिकामा रु एक करोड ५० लाख बजेट प्राप्त भएकोमा ‘क’ वर्गका मुक्तहलियाका २५ परिवारका लागि जग्गा खरिद गरी जग्गा धनी पुर्जा हस्तान्तरण गरिएको थियो ।
जग्गा खरिदका लागि नगरपालिकाले रु ५४ लाख रकम खर्च गरेको छ । बाँकी रकम घर निर्माणका लागि मुक्तहलिया परिवारलाई उपलब्ध गराउनुपर्नेमा नगराइएको उनीहरूको गुनासो छ । जग्गा खरिदका लागि रु दुई लाख र घर निर्माणका लागि रु दुई लाख ५० हजार रकम मुक्तहलिया परिवारलाई उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ ।
मुक्तहलिया परिवारलाई सात धुरका दरले जग्गा खरिद गरी जग्गाधनी पुर्जा दिइएको छ । मुक्त हलिया पृते पार्कीले जग्गा धनी पुर्जा पाएको र घर निर्माणका लागि रकम नपाउँदा बिचल्लीमा परेका बताएका छन् । उनले नगरपालिकाले आश्वासन मात्रै दिने गरेको बताए ।
कमला लावडले सार्वजनिक जग्गामा त्रिपालको झोपडीमा बस्दा बस्दा थाकिसकेको र अब पाएको जग्गा धनी पुर्जा नगरपालिकालाई नै फिर्ता गर्ने अवस्थामा पुगेको बताए ।
मुक्तहलिया परिवार एक हप्ताभित्रै रकम निकासा नभए बालबालिकासहित नगरपालिका कार्यालयमै आएर बस्ने समेत चेतावनी दिएका छन् । निकै कष्टकर अवस्थामा जीवन बिताउँदै आएका र कोरोनाका कारण गर्दै आएको मजदुरीसमेत नपाइदा साँझ बिहानको खाना खर्च जुटाउनै मुस्किल भएको उनीहरूको दुखेसो छ ।
शुक्लाफाँटाका नगर प्रमुख दिलबहादुर ऐर मुक्तहलिया परिवारलाई चाँडै घर निर्माणको पहिलो किस्ताबापतको रकम उपलब्ध गराउनका लागि काम अगाडि बढेको बताउनुभएको छ । उहाँले घर विहीन अवस्थामा कसैलाई पनि नराखिने बताउँदै छिटो भन्दा छिटो रकम निकासाका लागि काम गरिरहेका बताउनुभयो ।
राष्ट्रिय हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहार मुक्तहलिया परिवारको जग्गा खरिद गरिएको एक वर्ष बिते पनि मन्त्रालयबाट निकासा भएको घर निर्माणबापतको रकम नपाउँदा अवस्था बिजोग रहेको बताउँछन् । तत्काल नगरपालिकाले मुक्तहलियाको घर निर्माणबापतको रकम उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्