प्रमुख प्रतिपक्षीको विरोधकाबीच “विनियोजन विधेयक, २०७८” प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले “विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्” प्रस्ताव स्वीकृत गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदको नाराबाजीकै बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उक्त प्रस्ताव बैठकको बहुमतले स्वीकृत गरेको हो ।
यस्तै बैठकले पूर्व सांसदहरू रूक्म शमशेर ज.ब.रा. र मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय सभा पूर्व सदस्य, भारतका लागि पूर्व नेपाली राजदूत समेत रहनु भएका नेपाली काँग्रेसका नेता ज.ब.रा.को ८६ वर्षको उमेरमा उपचारका क्रममा यही भदौ २६ गते निधन भएको थियो ।
यस्तै २०६४ सालको संविधान सभा सदस्य रहनु भएका नेपाली काँग्रेसका नेता मानबहादुर महतोको ७२ वर्षको उमेरमा उपचारको क्रममा यही भदौ २७ गते निधन भएको थियो ।
प्रतिनिधि सभाको बैठक यही असोज ४ गते सोमबार बिहान ११ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्