मध्य पहाडी लोकमार्गमा पहिरोले २५ करोडको क्षति

पर्वत । पहिरोले पर्वतमा निर्माणाधीन मध्य पहाडी लोकमार्गमा २५ करोड बराबरको संरचनामा क्षति भएको अनुमान गरिएको छ । यही भदौ १७ गतेको पहिरोले १० किलोमिटर क्षेत्र क्षतविक्षत भएको छ ।
८ दिनसम्म पहिरो पन्छाउन लागेको यो सडक अहिले सम्म एकतर्फी मात्रै सञ्चालन भइरहेको छ । सडकको कतिपय ठाउँमा कालोपत्रे नै पुरिएको छ भने पुल, नाली, रिटेनिङ वाल, टेवा पर्खाल भत्किएर बिजोग अवस्था छ ।
लोकमार्ग आयोजना कार्यालयकाका अनुसार सडक खुलाउन मात्रै आठ दिनसम्ममा करिब ५ करोड रुपैयाँ खर्च भएको छ । अब सडकलाई पुरानै अवस्थामा फर्काउन धेरै स्थानमा पहिरो उकास्न पर्ने अवस्था छ । धौलागिरि कै लाइफलाइन सडकका रूपमा रहेको उक्त सडक खण्ड २०४७ सालमा चीन सरकारको सहयोगमा निर्माण भएको थियो । उतिबेला सिङ्गल लेनमा बनेको सडकमा पछिल्लो समय सवारी चाप बढेसँगै मध्य पहाडी लोकमार्ग आयोजनामा समेटिँदै दुई लेनमा बिस्तार गर्नेगरि डिजाइन भयो । डिजाइन अनुसार २०७५ सालमा पर्वत खण्डको करिब २५ किलोमिटर बिस्तार, स्तरोन्नति र कालोपत्रेको जिम्मा लामा कन्स्ट्रक्सनले लिएको थियो ।
२५ किलोमिटरमध्ये कास्कीको सिमाना नयाँ पुलदेखि कुश्मा–८ चुवासम्मको सबैजसो खण्ड बिस्तार गरी कालोपत्रे सकिएको थियो । आयोजना कार्यालयका अनुसार पुनर्निर्माण तथा अहिले बाटो खुलाउँदा भएको खर्चसमेत हिसाब गर्दा करिब २५ करोड रुपैयाँ बढी क्षति भएको छ ।
आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीका अनुसार क्षतिको पूर्ण विवरण आइसकेपछि सडक पुनर्निर्माण सुरु हुनेछ । क्षति भएका संरचना निर्माणको जिम्मा सम्बन्धित व्यवसायीले नै लिनुपर्ने मरासिनीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्