तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नंं २ मा कोरोनाका संक्रमित निरन्तर घट्दै

जनकपुरधाम । प्रदेश नंं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा व्यापक मात्रामा कमी आएको छ । अहिले कोरोनाको कुनै गम्भीर बिरामी नरहेको प्रदेश नं २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेश नंं २ को सर्लाही, रौतहट तथा बारा जिल्लाका संस्थागत आइसोलेसन पूर्ण रुपमा खाली भएको छ । यसै गरेर प्रदेश नंं २ को कोरोना विशेष अस्पतालहरूमा रहेको आइसियु, एचडियु तथा भेन्टिलेटरमा एक जना बिरामी नरहेको प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो । 

अहिले प्रदेश भरिमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २० जना रहेका छन् । त्यस मध्ये १ सय १२ जना होमआइसोलेशनमा रहेका छन् भने ८ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । 

अहिले सप्तरी जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ जना तथा होम आइसोलेसनमा ७ जना गरेर कूल सङ्क्रमितको सङ्ख्या ८ रहेको छ भने सिरहा जिल्लामा १ जना संस्थागत आइसोलेसनमा र होम आइसोलेसनमा २६ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या २७ जना रहेका छन् ।

धनुषाको संस्थागत आइसोलेसनमा ३ जना तथा होम आइसोलेसनमा १९ जना गरेर २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने महोत्तरी जिल्लाको संस्थागत आइसोलेसनमा २ जना तथा होम आइसोलेसनमा ११ जना गरेर कूल सक्रिय सङ्क्रमितको सङ्ख्या १३ जना रहेका छन् । 

सर्लाही जिल्लाको संस्थागत आइसोलेसनमा कोही रहेको छैन भने होम आइसोलेसनमा १४ जना, रौतहटको होम आइसोलेसनमा १५ जना, बारामा १५ जना कोरोनाका सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । 

पर्सा जिल्लाको संस्थागत आइसोलेसनमा १ जना तथा होम आइसोलेसनमा १५ जना रहेका छन् । कोरोनाबाट हालसम्म १ हजार ३५ जनाको मृत्यु भएको छ भने ३६ हजार ९ सय ९१ निको भएर घर फर्किसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

अहिलेसम्म १ लाख ७५ हजार ५ सय ५२ जनाको पिसिआर परीक्षण गर्ने काम भएको पनि निर्देशनालयले जनाएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button