तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा उत्पादित आधुनिक घार सिक्किम निर्यात हुँदै

बागलुङ । बागलुङमा उत्पादित मौरीका आधुनिक घार छिमेकी राष्ट्र भारतको सिक्किममा निर्यात हुन थालेका छन् । 

बागलुङ नगरपालिका–१२, अमला चौरमा रहेको बलेवा मौरी पालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका हुन् ।

सिक्किमको कृषि विज्ञान केन्द्रले वाग्लुङमा उत्पादन भएका घार किनेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत मूल्य सूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो । पहिलो चरणमा २२६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताउनुभयो ।

अहिले पनि भारतबाटै मौरीका घार नेपाल आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घर घरमा पुग्नु आफ्ना लागि सुखद पक्ष भएको खत्री बताउनुहुन्छ । हाल नेपालमा ४० देखि ५० हजार मौरी घार भारतबाट आयात हुन्छन्, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिने खत्रीले बताउनु भयो । 

पहिलो पटक भारत निर्यात गर्न थालेको सो उद्योगले नेपालबाट भन्सार पार गराउन पुर्‍याउनुपर्ने प्रक्रिया भने झन्झटिलो रहेको जनाइएको छ ।

वार्षिक एक हजार दुई सय घार उत्पादन गर्दै आएको सो उद्योगमा ९ जनाले रोजगारी पाएका छन् । मूल्य भने प्रतिघार  तीन हजारदेखि  तीन हजार ६०० सम्म रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button