भौतिक रुपमा पठनपाठन सुरु भएपछि विद्यार्थी उत्साहित

सोलुखुम्बु । सोलुखुम्बुका विद्यलायहरुमा भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएपछि विद्यार्थीहरू उत्साहित बनेका छन् ।
लामो समयदेखि घरमा बस्नुपर्दा तनाव भएको भन्दै सदरमुकामको जन जागृति माध्यामिक विद्यालयका कक्षा १० मा अध्ययनरत छात्रः प्रज्वल मगरले विद्यालय सञ्चालनमा आएपछि ढुक्क भएको बताउनुभयो ।
“विद्यालयबाट अनलाइन कक्षा समेत नभएकाले घरमा काम गरेर वा खेलेर बस्नुपर्दा एसइईको चिन्ताले सताउने गरेको थियो, अब भने केही आशा पलाएको छ”, उहाँले भन्नुभयो ।
त्यस्तै, नेचासल्यान गाउँपालिकाको महेन्द्रोदय मध्यामिक विद्यालयका छात्रा नबिना राउतले पनि विद्यालयमा गएर पढ्न पाउँदा खुसी भएको बताउनुभयो ।
लामो समयदेखि विद्यालय बन्द हुँदा पढ्न नपाएर बसेका उहाँहरू जस्ता जिल्लाभरिका विद्यार्थीहरू अहिले फुरुङ्ग भएर विद्यालय जान थालेका छन् ।
नगरपालिका तथा धेरैजसो गाउँपालिकाहरूले भदौ २० गतेबाट विद्यालयहरूमा तालिका बनाएर फरक दिन फरक कक्षालाई पढाउन थालेको भए पनि २७ गतेदेखि नियमित रुपमा सबै कक्षाको पठनपाठन थालिएको छ ।जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका, लिखुपिके, महाकुलुङ, सोताङ, माप्यदूधकोशी, खुम्बुपासाङल्हामू गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिकामा विद्यार्थीको भौतिक उपस्थितिमा पूर्ण रुपमा विद्यालय सञ्चालन भएको हो ।

डब्लुएचओले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा ल्याएको जन जागृति आधारभूत माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवप्रसाद राईले बताउनुभयो ।
विद्यालय वरपर र शौचालयको सरसफाइ, शुद्ध खानेपानीको व्यवस्थापन, अभिभावक र विद्यार्थीहरूसँग आवश्यक समन्वय, शिक्षकहरू विद्यालय पुगेर शैक्षिक सामग्रीहरूको आवश्यक तयारी गरेर पठनपाठन थालेको विद्यालयहरूले जनाएका छन् ।
दुर्गम हिमाली जिल्ला भएकाले सोलुखुम्बुमा निषेधाज्ञा अवधिभर कुनै अनलाइन कक्षा सञ्चालन भएन । केही गैरसरकारी संस्थाले आधारभूत तहका लागि रेडियो कक्षा सञ्चालनमा ल्याएका थिए ।








प्रतिक्रिया राख्नुहोस्