तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार बिन्दुमा ‘भेइकल स्क्यानर’ जडान गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशीघ्र सवारी साधनको परीक्षण गर्ने ‘भेइकल स्क्यानर’ जडान गर्न निर्देशन दिनुभएको छ । 


भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई आइतबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो । 


सो प्रणाली जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका माल वस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन । उहाँले माल वस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारिता कायम गरी राजस्व सङ्कलन वृद्धि गर्न पनि कर्मचारीलाई आग्रह गर्नुभयो ।    
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात् गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 

राजस्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारिता माथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिनुभयो । 


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनु पर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button