तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गरायो

वाग्मती । निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ । 

आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डे लगायतको टोलीले आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । 

आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित भएका १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन अध्यादेश, २०७८) को नियम ५ अनुसार एमालेबाट विभाजन भई नेकपा (एकीकृत समाजवादी) बनेको जानकारी गराइएको छ ।

निर्वाचन आयोगले एकीकृत समाजवादी रोजेका प्रदेशसभा सदस्यहरूले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ (२क) बमोजिम दल त्याग गरेको नमानिने अवगत गराएको छ ।

प्रदेशसभामा नयाँ दल सूचीकृत भएसँगै वाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको सङ्ख्या  सात  पुगेको छ । 

प्रदेशसभामा विभाजनपछि पनि ४३ सदस्यसहित नेकपा एमाले सबैभन्दा ठूलो दल छ भने नेकपा माओवादी केन्द्र २३ सदस्यसहित दोस्रो त्यस्तै २२ सदस्यसहित नेपाली कांग्रेस तेस्रो दलका रूपमा रहेको छ । नयाँ दल नेकपा(एकीकृत समाजवादी) १३ सदस्यसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलमध्ये चौथो दल बन्न पुगेको छ । 

तीन सदस्य सङ्ख्यासहित प्रदेशसभामा यसअघि चौथो ठूलो दलका रुपमा रहेको विवेकशील साझा पाँचौँमा पुगेको छ ।

प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी र राप्रपाको दुई÷दुई जना सदस्य रहेका छन् भने स्वतन्त्रतर्फ एक सदस्य छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button