राजस्व वृद्धि गर्ने गरी प्रतिस्थापन विधेयक पेशः अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले बजेटलाई घटाएर राजस्वलाई वृद्धि गर्ने गरी प्रतिस्थापन विधेयक संसद् समक्ष पेस गरेको बताउनुभएको छ ।
प्रतिस्थापन विधेयकका सम्बन्धमा प्रस्ट पार्न आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जर्नादन शर्माले नाम मात्रका र स्रोतको सुनिश्चित नभएका आयोजनाहरूलाई स्थगित गरेर पुँजीगत खर्च बढाउने गरी बजेट संशोधन गरिएको बताउनुभयो ।
अर्थमन्त्री शर्माले बजेटको वितरण हुने तर प्रतिफल नआउने प्रवृत्तिलाई सुधार गरेर वितरण गरे जसरी प्रतिफल आउने गरी बजेटलाई सामान्य रुपमा सुधार गरेको बताउनुभयो ।
अर्थमन्त्री शर्माले पुनर्स्थापन विधेयक मार्फत अति विपन्न जनता, अपाङ्ग, घाइते बिरामी र राजनीति परिवर्तनलाई योगदान गरेका परिवारहरूलाई सामान्य सहयोग गर्ने गरी बजेटमा संशोधन गरेको पनि बताउनुभयो ।
अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकले उत्पादन वृद्धि, रोजगारीको वृद्धि तथा आयातलाई प्रतिस्थापन गर्ने गरी विभिन्न व्यवस्था गरिएको पनि उल्लेख गर्नुभयो ।
अर्थमन्त्री शर्माले २ सय मेघावाट माथिका अर्ध जलाशय युक्त आयोजनाहरूलाई १५ बर्ष कर छूटको व्यवस्था गरेको, पुँजीगत बजेट र पुँजीगत खर्चलाई बढाउने र प्रत्येक महिनामा १० प्रतिशत खर्च गर्ने व्यवस्था गरिएको पनि उल्लेख गर्नुभयो ।
प्रतिस्थापन विधेयक नयाँ नल्याउने र अध्यादेशलाई नै पारित गर्ने कुरा भए पनि प्रतिपक्ष दलले नमानेका कारण दुई दिनको छोटो अवधिको तयारीमा सामान्य सुधार गर्ने गरी मात्र प्रतिस्थापन विधेयक ल्याउनु बाध्यता पनि अर्थमन्त्रीले प्रस्ट पार्नुभयो ।
पत्रकारहरूको प्रश्नको जवाफमा अर्थमन्त्री शर्माले आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा कुनै समस्या नहुने, मासिक रुपमा १० प्रतिशत खर्च गर्न सकिने र एसेम्वल र गर्ने र गाडी नै उत्पादन गर्ने उद्योगको स्थापनाका लागि लगानीकर्ताहरूको खोजीको पहल गर्ने पनि बताउनुभयो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ सचिव मधुकुमार मरासिनिले पनि पत्रकारहरूका प्रश्नहरूको जवाफ दिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्