कास्की जिल्ला टेनिस सङ्घको अध्यक्षमा गुरुङ निर्वाचित

पोखरा । कास्की जिल्ला टेनिस सङ्घको अध्यक्षमा लोकबहादुर गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
सङ्घको शनिबार पोखरामा सम्पन्न चौथो अधिवेशन तथा सातौँ साधारण सभाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा राजु गुरुङ, द्वितीय उपाध्यक्षमा नवीन चालिसे, सचिवमा नवीन श्रेष्ठ तथा कोषाध्यक्षमा अनुज कुमार बास्तोला हुनुहुन्छ ।
कार्यक्रममा प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुदको विकास नभई समृद्धिको कल्पना गर्न नसकिने बताउँदै दिगो विकास लक्ष्य हासिल गर्न खेलकुदको अपरिहार्यता बढ्दै गएको उल्लेख गर्नुभयो ।
उहाँले पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको तयारी सँगै पोखरा रङ्गशालामा खेलाडीका लागि स्वास्थ्य केन्द्र स्थापना गरिने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरामा टेनिस खेलले थुप्रै अन्तर्राष्ट्रिय खेलाडी भित्राइसकेको बताउँदै खेल र पर्यटनलाई सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनकै अवसर पारेर कास्की जिल्ला टेनिस सङ्घले विभिन्न उमेर समूहका प्रतियोगिताहरूमा पदक विजेता खेलाडीहरूलाई सम्मान समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्