तपाईँ सुन्दै हुनुहुन्छः

चार महिनामा सल्यानबाट ११ करोडको तरकारी निकासी

सल्यान । बेमौसमी तरकारी खेतीका लागि परिचित सल्यान कपुर कोटबाट चार महिनाको अवधिमा ११ करोडको ताजा तरकारी निकासी भएको छ । 


कपुर कोट गाउँपालिकाका किसानले उत्पादन गरेको २७ हजार २६ क्विन्टल ताजा तरकारी जिल्ला बाहिर निकासी भएको हो । 


कृषि उपज बजार केन्द्र कपुर कोटबाट जेठदेखि भदौ २० सम्म ११ करोड ४ लाख १४ हजार ७ सय ४ रुपैयाँको ताजा तरकारी निर्यात भएको केन्द्रका सचिव तिलक शर्माले जानकारी दिए । 


बेमौसमी तरकारी भएकाले किसानले राम्रो मूल्य पाइरहेको उनको भनाई छ । किसानले राम्रो मूल्य पाए पनि रोग, किराको कारण भने तरकारीको उत्पादनमा केही कमी आएको उनले जानकारी दिए । 


जिल्लाका त्रिवेणी, छत्रेश्वरी, रोल्पा र दाङबाट समेत कपुर कोट सङ्कलन केन्द्रमा तरकारी सङ्कलन हुने भए पनि कपुर कोट गाउँपालिका भित्रका किसानले उत्पादन गरेको मात्र तरकारीको तथ्याङ्क राखिने गरेको सचिव शर्माले बताए । 


पहिलो चरणमा कोरोना महामारी नियन्त्रण गर्न निषेधाज्ञाले केही समस्या बनाए पनि अहिले भारतबाट आउने तरकारीले समस्या बनाएको उनको भनाई छ । भारतबाट आएको तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा किसानहरूले केही सस्तो मूल्यमा आफ्नो उत्पादन दिनुपर्ने बाध्यता रहेको उनले बताए । 


जिल्लामा पछिल्लो समय मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 


कपुर कोट गाउँपालिकामा मात्र गत वर्षदेखि तीन वटा तरकारीका ब्लक कार्यक्रम सञ्चालन गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 


गर्त वर्ष मात्र जिल्लाबाट ७३ करोडको कृषि उपज जिल्ला बाहिर निकासी भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button