कुश्मामा असोज १ गतेदेखि विद्यालय खुल्ने
पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सबै विद्यालयमा प्रत्यक्ष उपस्थितिमा पठनपाठन गर्ने भएको छ ।
कोरोना संक्रमण नियन्त्रण हुन थालेपछि आज बसेको नगर शिक्षा समितिको बैठकले बन्द रहेका विद्यालय खोल्ने निर्णय गरेको हो । नगरप्रमुख रामचन्द्र जोशीले असोज १ गतेबाट सबै विद्यालय खोल्ने निर्णय भएको जानकारी दिनुभयो ।
कुश्मा नगरपालिकामा कोरोना सङ्क्रमणको दोस्रो लहर पश्चात् वैशाखदेखि भौतिक उपस्थितिमा हुने पठनपाठन रोकिएको थियो । केही विद्यालयले अनलाइन मार्फत पढाई सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले इन्टरनेटको असुविधाका कारण अनलाइन कक्षा सञ्चालन गर्न सकेका थिएनन् ।
विद्यालयहरूलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्डको पालना गर्न अनुरोध गरिएको नगरप्रमुख जोशीले बताउनुभयो ।
कुश्मा नगरपालिकाभित्र ६७ सामुदायिक र १४ वटा संस्थागत विद्यालयमा करिब ९ हजार विद्यार्थी अध्ययनरत छन् ।








प्रतिक्रिया राख्नुहोस्