चोरी शिकारी नियन्त्रण गर्न शुक्लाफाँटा निकुञ्जमा मचान निर्माण

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकारी नियन्त्रण गर्न विभिन्न पाँच ठाउँमा थप मचान (वाच टावर) निर्माण गरिएको छ ।
नेपाल–भारत सीमा क्षेत्र, चुरे क्षेत्र र वन्यजन्तुको चोरी शिकारी हुनसक्ने सम्भावित क्षेत्रमा निगरानी गर्न सहजताका लागि तराई– भू–परिधि कार्यक्रमको आर्थिक सहयोगमा निकुञ्ज कार्यालयले मचान निर्माण गरेको हो ।
चोरी शिकारी नियन्त्रण गर्न मचान निर्माण गरिएको निकुञ्ज कार्यालयका सूचना अधिकारी सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभएको छ ।
उहाँले निकुञ्ज कार्यालयको कम उपस्थिति हुने क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन मचान निर्माण गरेका बताउनुभयो ।
मचान निर्माण गरिएपछि निकुञ्जको नेपाल–भारत सीमा क्षेत्रमा भारतीय नागरिकले अवैधरुपमा छिरेर वन्यजन्तु, चरा, माछालगायतको चोरी शिकारी गर्ने कार्यलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

झाडी र बाक्लो घाँसका कारण गस्ती टोलीले चोरी शिकारीमाथि निगरानी राख्न गाह्रो हुने भएकाले मचान निर्माण भएपछि टाढैबाट हेर्न सकिने र नियन्त्रण गर्न सकिने सहायक संरक्षण अधिकृत चौधरीको भनाइ छ ।
निकुञ्जको नेपाल–भारत सीमा क्षेत्र नजिकै गत वर्ष पाटे बाघ मरेको अवस्थामा फेला परेको थियो ।त्यसपछि निकुञ्ज कार्यालयले पैदल र हात्तीमा गस्तीलाई निरन्तर रुपमा अगाडी बढाउँदै आएको छ ।
निकुञ्जको सुरक्षार्थ नेपाली सेनाका १६ पोष्ट र निकुञ्ज कार्यालयका १५ पोष्ट स्थापना गरिएका छन् । नेपाली सेना र निकुञ्जका पोष्टबाट दैनिक रुपमा वन्यजन्तु र काठ तस्करी रोक्न गस्ती गरिने गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्