भूकम्पपछिको ७ बर्ष : तनहुँमा ८१ प्रतिशत घर पुनर्निर्माण

तनहुँ । विनाशकारी भूकम्पको ७ वर्षमा तनहुँमा ८१.३ प्रतिशत घर पुनर्निर्माण भएका छन् । गोरखाको बारकपाक केन्द्रबिन्दु भएर आएको शक्तिशाली भूकम्पले जिल्लाका १५ हजार ८ सय ८८ घर पूर्ण रुपमा क्षति भएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईका अनुसार तनहुँ उपलब्ध गराएको तथ्याङ्क अनुसार अझै पनि १८.७ प्रतिशत बढी लाभग्राहीको आवास निर्माण गरेका छैनन् ।
भूकम्पबाट क्षति भएको १५ हजार ८ सय ८८ लाभग्राही मध्ये १० हजार ५ सय ३६ लाभग्राहीलेले मात्र यो अवधिमा आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । इकाईका कम्प्युटर अपरेटर तथा सूचना अधिकारी सुजन तिवारीलेका अनुसार हालसम्म १४ हजार ९ सय ४३ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ बुझेका छन् । पूर्ण क्षति हुने लाभग्राही मध्ये १४ हजार १ सय ३९ र आंशिक क्षति भएकाहरू ८ सय ४ जनाले पहिलो किस्ता प्राप्त गरेको बताउनुभयो ।
जिल्लामा अझैसम्म पनि आवास पुनर्निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लगेको मध्ये ७ सय १५ जनाको घर निर्माण हुन सकेको छैन । पहिलो किस्ता बुझेर विभिन्न कारण घर बनाउन इच्छा नदेखाउँदा पुनर्निर्माणको प्रगति शतप्रतिशत नभएको इकाईका प्रमुख जयप्रकाश गुप्ताले बताउनुभयो । उहाँले घर निर्माणमा इच्छा नदेखाउने, अन्यत्र घर भएकाले पुनर्निर्माणका आवश्यकता नभएको लगायतका कारण शतप्रतिशत लाभग्राहीले तेस्रो किस्ता नबुझेको बताउनुभयो । उहाँले केही वास्तविक भूकम्प पीडितले राहत तथा अनुदानको बारेमा जानकारी समेत नपाएको गुनासो आउने गरेको बताउनुभयो ।

जिल्लामा पूर्ण तथा प्रबलीकरण तर्फका लाभग्राहीहरूमा व्यास नगरपालिकाका १६ सय ३७, भानु नगरपालिकाका ३७ सय ४६, बन्दिपुर गाउँपालिकाका ८ सय ७६, आबुँखैरेनी गाउँपालिकाका ६ सय ९१, देवघाट गाउँपालिकाका ५ सय ३५, घिरिङ गाउँपालिकाका २ सय ४७, ऋषिङ्ग गाउँपालिकाका ४ सय ४४, शुक्लागण्डकी नगरपालिकाका १३ सय ९१, भिमाद नगरपालिकाका ८ सय ८० र म्याग्दे गाउँपालिकाका १ हजार ४८ ले तेस्रो किस्ता बुझेको तथ्याङ्कमा उल्लेख छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईले जिल्लाका २ सय २० लाभग्राहीले बुझेको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ रकम फिर्ता गरेको जनाएको छ । रकम फिर्ता गर्नेहरू मध्ये ११ जनाले राजीखुशी फिर्ता गरेको इकाईले जनाएको छ । अन्य लाभग्राहीले भने सम्झौता गरी पहिलो किस्ता बापतको रकम बैङ्कमा भए पनि नबुझेको कारण फिर्ता भएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
विभिन्न बैङ्क मार्फत लाभग्राहीले नबुझेको ४८ लाख ७५ हजार ३ सय ३२ रुपैयाँ इकाईको खातामा फिर्ता भएको छ । इकाईका अनुसार तनहुँमा आवास पुनर्निर्माणका लागी ६ सय ६३ भूकम्प पीडितले पुनरावेदन दर्ता गरेका थिए । जसमध्ये ४ सय ४१ जनाले अनुदान प्राप्त गर्नेछन् भने १० जनाको अझै निर्णय हुन सकेको छैन ।








प्रतिक्रिया राख्नुहोस्