पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा पर्यटन व्यवसायीको जोड

पोखरा । पोखराका पर्यटन व्यवसायीले कोरोनाको कहरमा परेको पर्यटन क्षेत्रलाई बिस्तारै चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् ।
रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराको २७औँ वार्षिक साधारण सभामा सहभागीहरूले पर्यटकीय गतिविधि सञ्चालन गरेर सुस्ताएको पोखराको पर्यटन क्षेत्रलाई माथि उठाउनुपर्नेमा जोड दिएका हुन् ।
रेवानको साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना प्रभावका कारण सुस्त अवस्थामा रहेको पर्यटन क्षेत्र अब चलायमान बनाउनुपर्ने बताउनुभयो ।
“कोरोना संक्रमण घट्दो छ, अब पर्यटन क्षेत्रका सबै खाले गतिविधि सञ्चालन हुनुपर्दछ”, भट्टराईले भन्नुभयो ।
उहाँले अहिले यहाँका होटल तथा रेष्टुरेण्टहरु बिस्तारै खुल्दै गएको बताउँदै असोजको पहिलो साता देखिनै पर्यटनसँगै अन्य गतिविधिहरू पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
पर्यटनसँग सम्बन्धित सम्पूर्ण सङ्घ संस्थाहरूबिच सहकार्य र हातेमालोको पनि आवश्यक गरेको भन्नुहुँदै उहाँले परिषद् अन्तर्गतका सबै सङ्घ संस्थालाई स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।
उहाँले व्यवसायीहरूलाई बैङ्क तथा वित्तीय सङ्घ संस्थाले अनावश्यक झमेलामा नपार्न अनुरोध गर्नुहुँदै बैङ्क तथा वित्तीय समस्या समाधानका लागि पनि आवश्यक कदम चाल्नुपर्ने जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकीका प्रमुख काशीराज भण्डारीले कोरोनाका कारण लामो समय शिथिल अवस्थामा पुगेको पर्यटन क्षेत्रको मुहार अब फिर्नेमा आशा व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पहारीले वडाभित्र भएका विकासे गतिविधि बारे प्रकाश पार्नुहुँदै आगामी दिनहरूमा गर्नुपर्ने कामका बारेमा अवगत गराउनुभएको थियो ।
उद्घाटन सत्रमा संस्थाका महासचिव विकाश भट्टराईले संस्थाका प्रगति विवरण प्रस्तुत गर्नुभयो ।
उहाँले रेवान पोखराले २२ औँ पोखरा सडक महोत्सव, कर शिक्षा कार्यक्रम, कोभिड–१९ को असरमा परेकाहरूलाई गरिएको राहत वितरण, खोप कार्यक्रम, नयाँ वर्षको शुभकामना कार्यक्रम, विभिन्न क्षेत्रलाई प्रदान गरिएको आर्थिक सहयोग, मिनी सडक महोत्सव, तालिम, पोखराको प्रवर्द्धनात्मक कार्यक्रमलगायत आफ्नो प्रतिवेदनमा प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा संस्थाका गतिविधिहरूमा सहयोग गर्ने विभिन्न सहयोगी सङ्घ संस्था तथा संस्थामा आबद्ध भएका नयाँ व्यवसायीहरूलाई स्वागत एवं सम्मान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्