तपाईँ सुन्दै हुनुहुन्छः

आज थारु समुदायको अट्वारी पर्वका लागि कञ्चनपुर र कैलालीमा सार्वजनिक बिदा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले आज कञ्चनपुर र कैलालीमा सार्वजनिक बिदा दिएको छ । आज परेको थारु समुदायको महत्त्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा प्रदेश सरकारले थारु बसोबास रहेका दुई जिल्लामा सार्वजनिक बिदा दिएको हो । अट्वारीलाई थारु समुदायमा दाजुभाइ, दिदीबहिनी र छर छिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ ।

आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ । यसबाट दाजुभाइ तथा दिदीबहिनीबीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारु समुदायमा छ। थारु अगुवाका अनुसार अट्वारी पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासँग जोडिएको छ ।

महाभारतका पाँच पाण्डवहरू र दाङका थारु राजा दंगिशरणबीच लामो समयदेखि राम्रो सम्बन्ध थियो । पाँच पाण्डव र द्रौपदी सबै जना सुर्खेतको काँक्रेविहारमा घुम्ने बेला दाङका थारु राजा दंगिशरणको राज्यमा शत्रुहरूलाई आक्रमण गर्न लागेको खबर थाहा पाएपछि तावामा पकाउँदै गरेको रोटी छोडेर पाँच पाण्डवमध्ये भीम भोकै पेटमा पानी समेत नखाई राजा दंगिसरणको पक्षमा लडेका थिए ।

भीमले राजा दंगिशरणको पक्षमा लडेर शत्रुहरूलाई हराउन सफल भएका थिए । सोही विजयी उत्सवको अवसरमा थारु समुदायले अट्वारी मनाउँदै आएको थारु समुदायको मान्यता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button