तपाईँ सुन्दै हुनुहुन्छः

सङ्खुवासभा सामूहिक हत्याकाण्डका अभियुक्त सार्वजनिक

सङ्खुवासभा । सङ्खुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

प्रहरीले शनिवार नियन्त्रणमा लिएको २६ वर्षीय कार्कीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 
लोकबहादुरले सङ्खुवासभाको मादी गाउँपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको बीभत्स हत्या गरेको प्रहरीको भनाइ छ । 

प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

गत सोमबार ९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षीय नाति दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्की मृतक परिवारकै आफन्त भएको सङ्खुवासभाका प्रहरी प्रमुख लाल ध्वज सुवेदीले जानकारी दिनुभयो । 

हत्यामा एक व्यक्तिको मात्रै संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ ।

सुरुमा तेजबहादुरको हत्यापछि परिवारका अन्य सदस्यको हत्या गरेको लोकबहादुरले स्वीकार गरेका छन् । 

अभियुक्त कार्कीमा चाँडै रिसाउने र आक्रामक हुने समस्या भएकोले औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ ।  

हत्या भएको दिन अभियुक्त रातभर अनिधो रहेको र खेताला बोलाउन गएका मृतकले अल्छे भनी गाली गरेकाले आक्रामक बनेको अभियुक्तले बयान दिएको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button