तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्रीसँग एमसिसी उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी)का उपाध्यक्ष फतिमा सुमारले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

अर्थ मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच आयोजनाको समग्र पक्षका बारेमा छलफल भएको थियो । 

भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिक स्तरमा छलफल भइरहेको बताउनुभएको थियो । 

अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिक स्तरमा छलफल भइरहेको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो । 

उपाध्यक्ष फतिमाको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शुक्रवार भेटवार्ता गरेको थियो । 

यस्तै, बिहीबार नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल(जसपा) का शीर्ष नेतासँग भेटवार्ता गरेको थियो ।

छलफलका क्रममा अधिकांश नेताले एमसिसीका सम्बन्धमा देखिएका विवाद सम्बोधन गर्न र केही बुँदा संशोधन गर्न आग्रह गरेका छन् । 

एमसिसी सहयोगबाट ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र दाङको भालुवाङदेखि शिव खोलासम्मको ७७ किलोमिटर सडक पूर्वाधार निर्माण हुनेछ । 

ती परियोजनाका लागि रु ५० अर्ब बराबर लगानी हुनेछ । नेपाल सरकारको तर्फबाट रु १३ अर्ब लगानी हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button