भूकम्पपछिको ७ बर्षः तनहुँमा ८१ प्रतिशत घर पुनर्निर्माण

तनहुँ । विनाशकारी भूकम्पको ७ वर्षमा तनहुँमा ८१.३ प्रतिशत घर पुनर्निर्माण भएका छन् ।
गोरखाको बारपाक केन्द्रबिन्दु भएर आएको शक्तिशाली भूकम्पले जिल्लाका १५ हजार ८ सय ८८ घर पूर्ण रुपमा नष्ट भएका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईका अनुसार तनहुँ उपलब्ध गराएको तथ्याङ्क अनुसार अझै पनि १८.७ प्रतिशत बढी लाभग्राहीको आवास निर्माण गरेका छैनन् ।
भूकम्पबाट क्षति भएको १५ हजार ८ सय ८८ लाभग्राही मध्ये १० हजार ५ सय ३६ लाभग्राहीले मात्र यो अवधिमा आवास पुनर्निर्माण सम्पन्न गरेका छन् । इकाईका कम्प्युटर अपरेटर तथा सूचना अधिकारी सुजन तिवारीका अनुसार हालसम्म १४ हजार ९ सय ४३ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ बुझेका छन् ।
पूर्ण क्षति हुने लाभग्राही मध्ये १४ हजार १ सय ३९ र आंशिक क्षति भएकाहरू ८ सय ४ जनाले पहिलो किस्ता प्राप्त गरेको बताउनुभयो ।
जिल्लामा अझैसम्म पनि आवास पुनर्निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लगेको मध्ये ७ सय १५ जनाको घर निर्माण हुन सकेको छैन ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाईले जिल्लाका २ सय २० लाभग्राहीले बुझेको पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ रकम फिर्ता गरेको जनाएको छ । रकम फिर्ता गर्नेहरू मध्ये ११ जनाले राजीखुशी फिर्ता गरेको इकाईले जनाएको छ ।
विभिन्न बैङ्क मार्फत लाभग्राहीले नबुझेको ४८ लाख ७५ हजार ३ सय ३२ रुपैयाँ इकाईको खातामा फिर्ता भएको छ ।








प्रतिक्रिया राख्नुहोस्