सभापतिको दौडबाट पछि हट्दिन : महामन्त्री कोइराला

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताउनुभयो ।
उहाँले जिल्लाहरूमा काँग्रेसको अधिवेशन चलिरहेको समयमा कार्य तालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्य तालिका संशोधन गरिएको जानकारी दिनुभयो । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उहाँले जानकारी दिनुभयो ।
एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहरण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताउनुभयो ।
विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उहाँले भन्नुभयो, “उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरू चलिरहेका छन् ।” रासस








प्रतिक्रिया राख्नुहोस्