सल्यान अस्पतालमा थन्कियो एक वर्षदेखि भेन्टिलेटर

सल्यान । सल्यान जिल्ला अस्पतालमा विगत एक वर्षदेखि भेन्टिलेटर थन्किएको छ ।
जनशक्ति र भवनको अभावका कारण ६ वटा भेन्टिलेटरसहित आइसियुका सामाग्री थन्किएका हुन ।
विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सङ्घीय सरकार र प्रदेश सरकारले उपलब्ध गराएका भेन्टिलेटर सहितका सामाग्री कोठामा थन्किएर बसेको अस्पतालले जनाएको छ ।
अस्पतालका तत्कालीन समस्यालाई भन्दा बिना छलफल पठाइएका सामाग्री आउँदा प्रयोग विहीन भएको सल्यान जिल्ला अस्पतालका डा. प्रदीप शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग भेन्टिलेटर सञ्चालन गर्ने न जनशक्ति नै छ न व्यवस्थापनका लागि भवन नै छ ।”
अस्पतालका तत्कालीन आवश्यकताभन्दा बाहिरका सामान आउने गरेको शर्माले बताउनुभयो ।
एउटै भेन्टिलेटरको मूल्य २५ लाखभन्दा बढी पर्छ । जुन छ वटा पठाइएको छ भने । इलेक्ट्रिक आइसियु बेड जुन एउटै बेडको एक लाखदेखि २ लाख ५० हजारसम्म पर्छ । करोडौँ खर्च गरेर ल्याएका सामान एक वर्षदेखि प्रयोग विहीन भएको डा. शर्माको भनाई छ । महत्त्वपूर्ण सामाग्री प्रयोगमा नल्याए सामान आफैँ बिग्रँदै जाने उहाँको भनाई छ ।
यता जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानले भने कोरोनालाई मध्यनजर गरी सामान आएको बताएको छ ।
सङ्घ र प्रदेश सरकारको नियमित कार्यक्रम अन्तर्गत उक्त समान आएको र आफूहरूलाई उपलब्ध भएको सिलिङलाई परिवर्तन गर्न नसक्ने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो । जनशक्ति र भवनको अभावका कारण समस्या भएको स्वीकार गर्दै उहाँले भन्नुभयो, “अबको केही समय भित्रै भेन्टिलेटर र आइसियुका लागि भवन निमार्ण हुन्छ ।”
भवन निमार्णका लागि टेन्डर भई सम्झौता समेत भइसकेको बताउँदै भवन निमार्ण लगत्तै ती स्वास्थ्य सामाग्री प्रयोगमा आउने उहाँले बताउनुभयो ।
कोरोना भाइरसको तेस्रो लहर आउने आँकलनसहित ल्याइएका स्वास्थ्य सामाग्री उपयोगमा आउने अस्पताले जनाएको छ ।
अस्पतालमा ६ शय्याको भेन्टिलेटर र १५ शय्याको आइसियु निमार्ण गर्न प्रदेश सरकारले २ करोड ५८ लाख बढीको स्वास्थ्य सामाग्री पठाएको छ ।








प्रतिक्रिया राख्नुहोस्