काँग्रेसको अधिवेशन कार्यतालिका संशोधन
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ ।
यही भदौ १८ गते निर्धारण गरिएको गाउँ, नगर वडा अधिवेशन सबै जिल्लामा सम्पन्न हुन नसकेपछि अधिवेशन कार्यतालिका संशोधन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।
पार्टीका क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका सबै ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको र बाँकी २० जिल्लाको क्रियाशील सदस्यता नामावली समितिलाई हालसम्म प्राप्त नभएको संयोजक यादवले बताउनुभयो ।
संशोधित कार्यतालिका अनुसार अधिवेशन प्रारम्भ हुन बाँकी २० जिल्लामा गाउँ–नगर वडा अधिवेशन आगामी असोज ५ गते तोकिएको छ ।
त्यस्तै गाउँ–नगरपालिका अधिवेशन असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते निर्धारण गरिएको छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते तोकिएको छ ।
प्रदेश र केन्द्रको अधिवेशनको मिति भने यथावत् छ । काँग्रेसले यस अघि नै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्