तपाईँ सुन्दै हुनुहुन्छः

मिथिला सहित तराई मधेशमा चौरचन पर्व मनाइँदै

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा चन्द्रमाको पूजा अर्चना गरेर श्रद्धाभक्ति पूर्वक चौठचन्द ( चौरचन ) पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र शुक्लपक्ष चौठी तिथिका दिन चौरचन पर्व मनाउने परम्परा रहेको छ । 
व्रतीले दिनभरि उपवास बसेर साँझ चन्द्रमा सहितको देवी देउताको विधिपूर्वक पूजा अर्चना गरेर पर्व मनाइन्छ । खास गरेर आजको दिन हातमा फलफूल, दही तथा अन्य प्रकारको पक्वानहरु लिएर चन्द्रमा को दर्शन गर्नाले सबै प्रकारको मिथ्या आरोपहरूबाट मुक्त हुने जनविश्वास रहेको छ । 

यस दिन पूजा पछि प्रसाद राखिएको डाला, फलफूल, नागरिवल, दही हातमा लिएर घरका हरेक सदस्यले चन्द्रमाको मन्त्र सहित दर्शन गर्ने चलन रहेको छ । व्रती सहित परिवारका सदस्यहरु दिन भरि नै पिडुकीया, खजुरो, गुलजामुन, खाजा बनाउने गर्दछन् । यसका साथै साँझ आँगनमा गाईको गोवरले लिपपोत गरेर त्यसमा अर्पन गरी त्यस माथि आसन राखेर चन्द्रमा, गणेश, कलश सहितका देवी देउँताहरुको पूजा गर्ने गरिन्छ । 

पूजामा खिरपूरी अनिवार्य रुपमा चढाउने चलन रहेको छ । पूजा सकेपछि घरका सदस्यहरूलाई प्रसादको रुपमा वितरण गरेर व्रतीले आफू पनि खाने गर्दछन् । यसका साथै इस्ट मित्र तथा आफन्तहरूलाई खुवाउने तथा वितरण गर्ने चलन पनि रहेको छ । यसमा प्रयोग गरिने प्रसाद सामाग्रीहरूको व्यवस्थापनमा घरका सदस्यहरु एक साता अगाडी देखि नै जुट्ने गरेका छन् ।  

चौरचन पर्व धनुषा, महोत्तरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, बारा, पर्सा, सुनसरी, मोरङ, उदयपुर लगायताका जिल्लाहरूमा भव्य रुपमा मनाइन्छ भने अन्य जिल्लाहरूमा पनि फाटफुट रुपमा मनाउने चलन रहेको छ । 

चन्द्रमाको पूजा गर्ने भएकाले नै यस पर्वलाई चौठचाँद अर्थात् चौरचन पर्व भनिन्छ । चौरचन पर्वमा व्रतीले पहिला आफै पूजापछि फलफूल लिएर चन्द्रमाको दर्शन गर्ने गर्दछन् भने त्यसपछि परिवारका सबै सदस्यले एक एक गरेर चन्द्रमाको दर्शन गर्ने चलन रहेको छ ।

यसै गरी आज देखि जनकपुरधाममा गणेश चौठी उत्सव पनि शुरु भएको छ । जनकपुरधामको वडा नंं ८ बाल्मिकीनगर बलवा टोलमा गणेण उत्सव कार्यक्रमको भव्य तयारी गरिइएको छ । बाल्मिकीनगरमा भदौ ३० सम्म उत्सको आयोजना गर्नुका साथै विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिइएको छ । 

यसै गरी जनकपुरधामको रामचौकमा रहेको गणेश मन्दिरमा पनि गणेश चौठीको विशेष तयारी गरिएको छ ।  तीन दिनसम्म सो ठाउँमा गणेश उत्सव समारोहको आयोजना गरिइएको गणेश युवा कमिटीका उपाध्यक्ष संजय कुमार साहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button