तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा कोरोना विरुद्धको खोप भेरोसिलको दोस्रो डोज २६ देखि २८ गतेसम्म

अछाम । अछाम जिल्लामा कोरोनाविरुद्धको भेरोसिल खोपको दोस्रो डोज भदौ २६ गतेदेखि दिइने भएको छ । श्रावण १७ गते देखि २५ गते सम्म भेरोसिलको पहिलो डोज खोप लगाएका नागरिकलाई भाद्र २६ देखि २८ गते सम्म अछामका १० वटै स्थानीय तहका सबै वडाहरूमा खोप केन्द्र सञ्चालन गरी दोस्रो डोज खोप दिइने स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपट राज ढुङ्गानाले जानकारी दिनु भएको छ ।

प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्र धनगढीबाट बिहीबार अछाममा खोप पुगेको र उक्त खोप दिइने लागेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । अछामका १० वटै स्थानीय तहमा श्रावण १७ गते देखि २५ गते सम्म १५ हजार ५ सय ५२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका जनस्वास्थ्य अधिकृत ढुङ्गानाले बताउनुभयो । पहिलो मात्रा खोप लगाएका व्यक्तिले दोस्रो खोप लिन  जाँदा खोप कार्ड लिएर आफूलाई पायक पर्ने स्थानमा गई खोप लगाउन सकिने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

यस्तै खोप सम्बन्धी केही जानकारी लिनु परे स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयसेबिकासँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत ढुङ्गानाले बताउनुभयो ।

अछाममा हालसम्म ५८ हजार नागरिकलाई कोरोना विरुद्धको पहिलो डोज दिइएको छ भने करिब २२ प्रतिशत बढीलाई दुबै मात्रा खोप दिइएको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले बताउनुभयो । हालसम्म जिल्लामा कोभिशिल्ड, भेरोसिल, अस्ट्राजेनिका र जोन्सन एण्ड जोन्सन खोप दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button