प्रमुख प्रतिपक्षीका विरोधका बीच प्रतिनिधि सभामा तीनवटा अध्यादेश स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले प्रमुख प्रतिपक्षी दलको विरोधकै बीच आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, र विनियोजन अध्यादेश २०७८, स्वीकृत गरेको छ ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नु भएको उक्त विधेयकहरू बैठकको बहुमतले स्वीकृत गरेको हो ।
आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८, र विनियोजन अध्यादेश २०७८, अस्वीकार गरियोस् भनी सांसद प्रेम सुवालले गर्नु भएको प्रस्तावलाई बैठकले अस्वीकृत गरेको छ ।
प्रमुख प्रतिपक्षीका सांसदहरूको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कार्यसूची अगाडी बढाउनु भएको थियो ।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदहरुको विरोधका कारण प्रतिनिधि सभाको आजको पहिलो बैठक अवरुद्ध भएको थियो ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षीले उठाएका विषयमा आफूले जवाफ दिइसकेको र सर्वोच्चमा विचाराधीन रहेकाले उक्त विषय बैठकमा नउठाउन पटक पटक आग्रह गर्नु भएको थियो ।
अवरोधकै बीच सभामुख सापकोटाले प्रतिपक्षी दलका सांसदहरूलाई बाढी पहिरो र जनसरोकारमा विषयमा सांसदहरुले बोल्न चाहिरहेकाले बैठक सञ्चालनका लागि सहयोग गर्न पटक–पटक अनुरोध गर्नु भएको थियो ।
सभामुख सापकोटाको पटक–पटकको आग्रह पछि पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नाराबाजी र विरोध कायमै राखेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नु भएको थियो ।
प्रतिनिधि सभाको अर्को बैठक आजै १५ मिनेटपछि फेरी बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्