तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पीडितलाई अस्थायी आवास निर्माण

तनहुँ । गत साता आएको अविरल वर्षापछि सुख्खा पहिरो जाँदा जोखिम युक्त बस्तीमा बसोबास गरेका तनहुँको भानु नगरपालिका ११ राम्चेका पीडित परिवारका लागि अस्थायी आवास निर्माण गरिएको छ ।

पहिरोबाट विस्थापित भएका यहाँका १२ घर दलित परिवारका लागि सशस्त्र प्रहरी बल न २३ को मनकामना गणले आवास निर्माण गरिदिएको हो । बस्तीमा बस्न थप जोखिम भएपछि सशस्त्र प्रहरीको टोलीले चार दिन लगाएर त्रिपाल र बाँसद्वारा अस्थायी आवास निर्माण सम्पन्न गरेको गणपति सञ्जय भट्टराईले जानकारी दिनुभयो । 

जोखिम बस्ती नजिकै पायक पर्ने सुरक्षित स्थानमा निर्मित टहरामा स्थानीयलाई सार्ने तयारी भइरहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार आवश्यक बाँस र त्रिपालको व्यवस्था भानु नगरपालिका र रेडक्रस सोसाइटीले उपलब्ध गराएको हो । 

पहिरोको जोखिम मोलेर नागरिक बस्न बाध्य भएको जानकारी प्राप्त हुनसाथ गृहमन्त्री बालकृष्ण खाँडले बस्ती स्थानान्तरण गरी पीडितको उद्धार गर्न निर्देशन दिनुभएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख सागर आचार्यलाई गत साता टेलिफोन गरी गृहमन्त्री खाँडले क्षतिको विवरण समेत लिनुभएको थियो । 

तत्काल जोखिम युक्त बस्तीका नागरिकलाई स्थानान्तरण गरेर सुरक्षित स्थानमा बसोबास गर्न मिल्ने स्थायी वासस्थान खोज्ने कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button