तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सप्तरी । सप्तरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ कट्टी बस्ने ६० वर्षीय लेल्है खंग रहेका छन् ।

बिहीबार साँझ राजविराज नगरपालिका वडा नम्बर ५ स्थित राजविराज–कुनौली सडक खण्ड अन्तर्गत विष्णुपुर तर्फ जाँदै गरेको को ७ प ४४१० नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ आउँदै गरेको स १ त २८७८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खंग सख्त घाइते भएका थिए ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ठक्करले मोटरसाइकल चालक महेन्द्र महतो घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको छ भने ठक्कर दिने ट्याक्टर र ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

त्यसै गरी बिहीबारै सप्तरीमा करेन्ट लागेर ११ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ३ सकरपुराका स्थानीय विनोद ठाकुरको ११ वर्षीय छोरा चन्दन ठाकुर रहेका छन् ।

बिहीबार घरमा एक्लै भएको अवस्थामा डिस होमको रिसिभरलाई सफा गर्ने क्रममा दुवै हातमा करेन्ट लागेर बालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बालकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button