तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना विरुद्धको लडाइमा चीनको भूमिका प्रशंसनीय : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना नियन्त्रण, उपचार र कोरोना विरुद्धको खोप व्यवस्थापनमा मित्रराष्ट्र चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित आर्थिक विकासका लागि राजनीतिक दलहरूको सुदृढ सहकार्य विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामाग्री,  उपचार र खोप अनुदान तथा खरिदमा चीनको भूमिका महत्पूर्ण र प्रशंसनीय रहेको बताउनुभएको हो ।

दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकका राजनीतिक दलका नेता, संसद् र सरकारका प्रमुख तथा प्रतिनिधि सहभागी कार्यक्रममा बोल्दै उहाँले कोभिड महामारीको त्रासदीले विश्वकै अर्थतन्त्रलाई मात्रै नभई व्यक्तिगत, सामाजिक, सामाजिक, राजनीतिक र आर्थिक सम्बन्धलाई समेत असर पारेको बताउनुभयो ।  

विश्वको कुनै पनि देश एक्लैले मात्रै यति ठूलो महामारीको सामना गर्न नसक्ने तथ्यलाई आत्मसाथ गरेर आज हामी मित्रराष्ट्रहरूको सहकार्यमा कोभिड भाइरसविरुद्ध लडाइँ लडिरहेका छौँ, उहाँले भन्नुभयो, कोरोना विरुद्धको लडाइमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ। कोरोना फैलावट रोक्न, उपचार गर्न तथा कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वव्यापी छ ।

अध्यक्ष तिमिल्सिनाले महामारीको समयमा राष्ट्रपति सी चिनफिङको सबल नेतृत्वले चीन विश्वको उदाउँदो शक्तिका रुपमा स्थापित गरेको धारणा राख्नुभयो । कोरोना महामारी दोस्रो  वेभको प्रारम्भमा आइपरेको भयावह सङ्कटका बेला चीनले उपलब्ध गराएको अक्सिजन सिलिण्डका कारण  हजारौँ नेपालीले पुनर्जीवन पाएको भन्दै अध्यक्ष तिमिल्सिनाले धन्यवाद दिनुभयो । 

नेपालमा कोरोना भाइरस देखा परेको सुरुवाती दिनबाटै चीन लगायतका मित्रराष्ट्रहरुले आइसियु, भेन्टिलेटर, स्वास्थ्य सामाग्री उपलब्ध गराएका कारण हामीले महामारी धेरै हदसम्म नियन्त्रणमा राख् नसकेका हौँ, उहाँले भन्नुभयो, हालसम्म ५४ लाख २५ हजारभन्दा बढी नेपालीले पहिलो मात्रा र ४६ लाख ६७ हजारले पूर्ण खोप पाएका छन्। यसका लागि चीनलगायत सबै सहयोगी मित्रराष्ट्रप्रति आभार व्यक्त गर्दछु।

अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन सम्बन्ध दुई सरकारबीचमा मात्र सीमित नभई जनस्तरमा पनि उत्तिकै आत्मीय रहेको बताउनुभयो । उहाँले नेपालमा बेलाबखत भइरहने सरकार परिवर्तनले मित्रराष्ट्रको आपसी सम्बन्धमा कुनै असर नपर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति सीले अगाडी बढाउनुभएको बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले पनि हस्ताक्षर गरेर साथ दिएको छ, उहाँले भन्नुभयो, कोभिडका कारण यसको कार्यान्वयनमा केही ढिलाइ भए पनि यथासम्भव अगाडी बढाउनुपर्छ।

सो क्रममा उहाँले दक्षिणपूर्वी एसिया र दक्षिण एसियाली मुलुकहरुबीच भौगोलिक निकटता मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध पनि उत्तिकै प्रगाढ भएकाले आपसी सहकार्य परिहार्य रहेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button