जिल्लाका समस्या समाधान गर्ने प्रजिअ गौतमको भनाई

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीमा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जनतासँग जोडिएका जिल्लाका विभिन्न समस्यालाई पहिचान गरी समाधान गर्ने बताउनुभयो ।
बिहीबार जिल्लाका संचारकर्मीहरूसगँ परिचयात्मक कार्यक्रम मार्फत सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो। जनतासँग सरोकारका विषयमा जिल्लाका सरकारी कार्यालयहरूका सूचना अधिकारीले सहज रुपमा जनतालाई दिनुपर्ने सूचना उपलब्ध गराउन पहल गर्ने प्रमुख गौतमले बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जिल्लामा देखिएका समस्याहरूको बारेमा जानकारी गराएका थिए। उनले जिल्लाका बाटोघाटो, कालोबजारी तथा खाद्य उपभोग बस्तुहरूको अनुगमन, निर्माण कामको जिम्मेवारी लिएका ठेकेदारहरूको लापरबाही बारेमा सोधखोज, लागु औषध तथा लत लागि सकेका युवायुवतीहरूको निगरानी लगायत जिल्लामा देखिएका समस्याहरूलाई समाधान गर्ने तर्फ उनले सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
उनले हिन्दु्हरुको महान् चाड विजया दशमीको समयमा हुने कालो बजारी र चोरी निकासीलाई मध्य नजर गर्दै जिल्लामा रहेको खुला सीमा नाकाका कारण हुने गरेको आपराधिक घटनाहरूलाई न्यूनीकरण गर्ने तर्फ ध्यान केन्द्रित गर्न आग्रह गर्नु भयो।
नव आगन्तुक प्रमुख गौतमले जिल्ला प्रशासन कार्यालयबाट पाउने सेवा सुविधालाई सहज उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।








प्रतिक्रिया राख्नुहोस्