तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा पनि तीजको रमझम, मधेशी तीजले क्षेत्रिय सद्भाव बढाउँदै

जनकपुरधाम । हरितालिका तीजको अवसरमा जनकपुरधामका मठ मन्दिर, पार्टी पौवामा व्रतीहरूले नाच गान गरेर बिताइरहेका छन् । जनकपुरधामको राम मन्दिर अगाडि रहेको धनुष सागरको वर्सातिमा मधेशी महिला सहित पहाडी मूलका महिलाहरूले घुलमिल गरेर नाचगान गरेका छन् ।

भाद्र शुक्लपक्ष तृतीया तिथिका दिनमा मनाइने हरितालिका तीज पर्व देवादिदेव महादेवको पूजा आराधना गरी श्रद्धा र निष्ठाका साथ मनाइँदै छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पति दीर्घायु, पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता रहेको छ । देशका अन्य ठाउँहरूमा जस्तै पछिल्लो समय मधेशका विभिन्न जिल्लाहरूमा तीजको तामझाम बढ्न थालेको छ ।

पतिको दीर्घायुको कामना गरी पहाडी समुदायले निष्ठा र आस्थाका साथ मनाउने पर्व अव मधेशी महिलाहरूको पनि निष्ठाको पर्व मनाउन थालेका छन् । दुवै समुदायका महिलाहरू एक अर्कासँग  घुलमिल गरेर हर्षोल्लासका साथ नाचगान गर्दै तीज पर्व मनाइरहेका छन् ।

तीजको अवसरमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि गणेश युवा कमिटीले राम मन्दिर अगाडी तीज विशेष कार्यक्रम आयोजन गरेको छ । व्रतीहरू जनकपुरधामको शिव मन्दिरका साथै राम मन्दिर , गणेश मन्दिर सहितका अन्य मन्दिरहरुमा विशेष पूजापाठ गरिरहेका छन् ।

नेपाल सरकारले तीजको अवसरमा महिलाहरूलाई सार्वजनिक बिदा दिइएको छ । कामकाजी महिलाहरू पनि बिहान देखि नै नाचगान गरेर पर्व मनाइरहेका छन् । आपसी सद्भाव चाईचारा बढाउनमा पर्वले मद्दत गरेको छ ।

यस वर्ष कोरोना महामारीको अवस्था रहेकाले विगत वर्ष जस्तो भिड नरहे पनि धनुषामा कोरोनाको अवस्था सामान्य रहेकाले केही भिड देखिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button