साँफेबगरमा आजदेखि र कमलबजारमा २८ गतेदेखि पठनपाठन हुने

अछाम । कोरोना महामारीका कारण गत वैशाख महिनादेखि बन्द रहेका अछामका विद्यालय पुनः सञ्चालनको तयारीमा जुटेका छन् । मङ्गलवार कोभिड–१९ का कारण बन्द रहेका विद्यालय सञ्चालन सम्बन्धी प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको संयोजकत्वमा बसेको सरोकारवालाको समन्वय बैठकले विद्यालय सञ्चालनका लागि स्थानीय तहले अवस्था हेरेर निर्णय गर्न सक्ने अधिकार दिएपछि जिल्लाका विभिन्न स्थानीय तह विद्यालय सञ्चालनको तयारीमा जुटेका हुन् ।
जिल्ला कोभिड सञ्चालन केन्द्रको बैठकले स्थानीय तहको गाउँ र नगर शिक्षा समितिको बैठकको निर्णयबाट विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको भोलिपल्ट बुधवार जिल्लाको साँफेबगर नगरपालिकाले बिहीबारबाटै विद्यालय सञ्चालन गर्ने निर्णय गरी आजबाट विद्यालय सञ्चालनमा ल्याएको छ । नगर शिक्षा समितिको दोस्रो बैठकले आजबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको सोही अनुसार आजबाट विद्यालय सञ्चालनमा आएका साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुँवरले बताउनु भयो ।
स्वास्थ्य सुरक्षाका मापदण्ड तथा नेपाल सरकारले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।
यस्तै जिल्लाको कमलबजार नगरपालिकाले भदौ २८ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिको आज बिहीबार बसेको बैठकले भदौ २८ गतेदेखि सम्पूर्ण शिक्षक कर्मचारीलाई विद्यालयमा अनिवार्य उपस्थिति गराई सिकाई सहजीकरण गर्ने निर्णय गरेको नगरप्रमुख ओमप्रकाश विष्टले बताउनु भयो । स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्ने निर्णय सहित बैठकले दसैँ तथा तिहारको बिदा पनि घटाएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन निकै प्रभावित भएको भन्दै बैठकले बडादशैँको अवधिमा ५ दिन र तिहारको अवधिमा ४ दिन मात्रै विद्यालयमा बिदा दिने निर्णय गरेको छ । यसबाहेक अन्य दिनमा विद्यालय सञ्चालनमा ल्याउनुपर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्टको भनाइ छ ।
यसअघि जिल्लाका विभिन्न स्थानीय तहले वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण गरिरहेका थिए ।
जिल्लाका विद्यालयहरूमा गत वैशाख महिनादेखि पठनपाठन ठप्प हुँदा बालबालिकामा नराम्रो असर परिरहेको अवस्थामा विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन शुरु गरिए पनि त्यो त्यति प्रभावकारी नभएको गुनासो आइरहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाईको भर्चुअल बैठक तथा पालिका स्तरीय प्रधानाध्यापकको बैठकबाट वैकल्पिक रुपमा सिकाई सहजीकरण भइरहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लक्ष्मण गिरीले बताउनुभयो । तर जिल्लाका सबै विद्यालयमा टोल शिक्षा शुरु नभएको समेत पाइएको छ ।
लामो समयदेखि पठनपाठन बन्द हुँदा अछामका ४ सय ९० सामुदायिक गरी करिब ५ सय विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित भइरहेको छ । बालबालिका विद्यालय जान नपाएपछि बढी असुरक्षित समेत हुने गरेको पाइएको छ । उनीहरू लड्ने, चोटपटक लाग्ने, हातखुट्टा भाँचिने, ज्यानै जाने सम्मका जोखिम रहेका अभिभावकहरूले बताउने गरेका छन् ।
स्मार्ट लकडाउन अन्तर्गत स्वास्थ्य मापदण्डको पालना गरी विद्यालय सञ्चालन निर्देशिका बनेको र सोही अनुसार विद्यालय सञ्चालन गर्नुपर्ने इकाई प्रमुख लक्ष्मण गिरीको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्