बारामा प्रहरीले ८० क्विन्टल सडेको दाल बरामद

बारा । बाराको पचरौता नगरपालिकाको बेलदारी गाउँबाट प्रहरीले ८० क्यून्टल सडेको दाल बरामद गरेको छ ।
कलैयास्थित यादव कोल्ड स्टोरमा जाँदै गरेको ना२त७५२५ नम्बरको ट्याक्टरमा लोड गरिएको ८० क्विन्टल सडेको दाल आज बिहान प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरीले टोलीले चेकजाँचको क्रममा दाल सहितको ट्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक सुबेदीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पचरैता नगरपालिका वडा नं. ५ बस्ने वर्ष २६ का ट्याक्टर चालक पन्नालाल महतो रहेका छन् ।
चालकले आफुसँंग भएको सो दाल कलैयास्थित राधेचन्द यादवको यादव कोल्ड स्टोरसम्म पुर्याउनका लागि आफ्नो साहु ओमप्रकाश यादवले वडा नं ४ का वडा अध्यक्ष कन्हैया लाल प्रसाद यादवको सिफारिस समेत दिएको बताउनुभयो ।
यता दाल साहु ओमप्रकाश यादवका अनुसार आफूले सो परिमाणको दाल यादव कोल्ड स्टोरबाट एक वर्ष अगाडी माछाको दाना तयार गर्न खरिद गरेकोमा दाना तयार नहुँदा उक्त दाल पुनः यादव कोल्ड स्टोरमा पठाउन लागेको जानकारी दिनुभयो ।
बरामद गरिएको दाल, ट्याक्टर र चालकका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुबेदीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्