तीजले जुम्लाको आर्थिक गतिविधि चलायमान

जुम्ला । कोरोनाका कारण लामो समयदेखि थलिएको जुम्लाको अर्थतन्त्र तीजका कारण चलायमान भएको छ । तीजका कारण व्यापार बढेपछि सुनचाँदी व्यवसायी, होटल व्यवसायी र कस्मेटिक व्यवसायीहरू खुसी भएका छन् ।
कोरोना कारण दुई वर्षदेखि बन्द रहेको व्यापार तीज नजिकिएपछि अनुमानित १५ देखि २० लाख सम्म सुनचाँदीको व्यापार भएको सुनचाँदी व्यवसायी विष्णु सुनारले बताउनुभयो । उहाँले भन्नुभयो,“गत वर्ष संक्रमण बढेकोले तीज नलागेपछि सुनचाँदी व्यापार पनि ठप्प भयो । तर यस वर्ष संक्रमण सामान्य हुँदा चहलपहल बढेपछि व्यापार सन्तोषजनक नै रह्यो ।” तीज नजिकिएपछि विगतको तुलनामा सुनको व्यापार बढेपछि जुम्लाका विष्णु सुनार जस्तै दर्जनौँ सुनचाँदी व्यवसायी राहत भएको बताउँछन् ।
साथै जुम्लाका अधिकांश होटल तीजको अघिल्लो दिन सम्म दर कार्यक्रमका लागि भरिभराउ थिए । होटल व्यवसायी नोर्बु लामाले कोरोना संक्रमण सामान्य भएसँगै होटल व्यवसाय सञ्चालित रहेपनि तीज नजिकिएपछि दैनिक जसो हुने दर कार्यक्रमले होटल व्यवसायमा टेवा पुर्याएको बताउनुभयो ।

उनका अनुसार जुम्लाका होटल कान्जिरोवा, मानसरोवर, भ्याली भ्यु, दौतरी,पौवा, लगायतका दर्जनौँ होटलमा महिला समूह, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्थाहरूको दर कार्यक्रम सञ्चालन भएका थिए । जसले आर्थिक गतिविधि बढेको छ ।
सुनचाँदी, होटल व्यवसाय, चुरा पोते, सारी,लगायतको व्यापार जुम्लामा राम्रै भएको पाइयो । उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष रज्जब अलिमनिहारले भन्नुभयो,“आर्थिक गतिविधि बढ्ने,अर्थतन्त्र चलायमान बनाउने भनेकै चाडपर्वहरूले हो । दुई वर्ष थला परेको जुम्लाको अर्थतन्त्रमा तीजले थोरै भए पनि राहत पुराएको छ । आर्थिक गतिविधि बढेका छन् । यो क्रम आउँदो दशै सम्म जारी रहे व्यवसायीलाई राहत पुग्छ ।”
सरकारले ल्याउने राहत प्याकेज दुर्गमका व्यवसायी केन्द्रित नभएकोले दूर दराजका व्यापारी समस्यामा छन् । तीजले विगतको तुलना हुनेखानेहरूले भड्किलो मनाउँदा सामान्य नागरिकमा असर त परेको छ ।
तर व्यापारिक दृष्टिले हेर्दा आर्थिक चलायमान राम्रै भएको अध्यक्ष मनिहारको भनाइ छ । गहना प्रर्दशन गर्ने, दरका नाममा लाखौँ खर्च गर्ने प्रवृत्तिका कारण पछिल्लो समय तीज संस्कृति भन्दा विकृतिका रुपमा विकास भएको नागरिक अगुवा राज बहादुर महत बताउनु हुन्छ । केही वर्ष यता जुम्लामा संस्कृति बचाउने भन्दा भड्किलो तीज मनाउने संस्कारको विकास भएको समेत उहाँको भनाई छ । तीज गहना प्रदर्शनको पर्वका रुपमा विकास भएको छ ।








प्रतिक्रिया राख्नुहोस्