तपाईँ सुन्दै हुनुहुन्छः

चार महिनादेखि दूषित पानी खान बाध्य

जनकपुरधाम । जनकपुरका खानेपानी उपभोक्ताले विगत चार महिनादेखि दूषित पानी खान बाध्य भएका छन् । 

खानेपानी संस्थान जनकपुरको लापरबाहीका कारणले उपभोक्ता दूषित पानी खान बाध्य भएका हुन ।

वर्षायाम सुरुभएदेखि अहिलेसम्म धारामा ढल मिसिएको जस्तो धमिलो, फोहोर र दूषित पानी आउने गरेको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ का स्थानीय बाँसीहरुको कथन रहेको छ । 

खानेपानी कार्यालयको कार्यालय भएको वडा नंं ९ साकेतनगरका स्थानीयवासीले यस विषयमा पटक पटक गुनासो गर्दा पनि संस्थानले सनुवाई नगरेको वडा बासी संजय साहले जानकारी दिनुभयो । 

साकेतनगरमा धारामा निरन्तर दुषिूत पानी आउँदा उपभोक्ताहरूले खानेपानी किनेर खानका लागि बाध्य भएका छन् । वडा नंं ७ र ८ मा पनि भूमिगत ढलको काम भएका कारणले खाने पानीको सप्लाई नै बन्दको अवस्थामा रहेको छ । 

खानेपानी संस्थान जनकपुरका प्रमुख शिरीषराज भण्डारीले जनकपुर ढल्केवर ६ लेन सडक बनाउने क्रममा केही स्थानमा धाराको पाइप काटिएकाले समस्या भएको बताउनुभयो । 

सडक बाटो बनाउँदा सम्बन्धित निकायले समन्वय नगर्दा धाराको पाइप काटिने र त्यसमा फोहोर पानी मिसिने गरेको उहाँले बताउनुभयो । 

उहाँले धारामा दूषित पानी जान नदिन चाँडै पाइप लिक भएको स्थानको मर्मत सम्भार गरी ठिक गराउने बताउनुभयो । उहाँले समयमा नै यस विषयमा खानेपानी तथा ६ लेन सडक आयोजनाका बीचमा समन्वय हुनुपर्नेमा नभएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button