तपाईँ सुन्दै हुनुहुन्छः

ऊर्जामन्त्री भुसालद्वारा रुद्रायणी मन्दिरको शिलान्यास

ललितपुर । खोकनावासीका आराध्य एवं इष्ट देवता ‘रुद्रायणी’ मन्दिरको पुनः निर्माणको शिलान्यास गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आज एक समारोहबीच स्थानीय संस्कृतिअनुसार मन्दिरको शिलान्यास गर्नुभयो ।

मन्दिर शिलान्यासका अवसरमा मन्त्री भुसालले मन्दिर पुनः निर्माणका लागि आवश्यक पर्ने स्रोतसाधन अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले खोकनावासीका आस्थाको मन्दिरलाई पूर्णता दिन आफूले निरन्तर सहयोग गर्ने बताउनुभयो । 

ललितपुर महानगरपालिका वडा नं २१ स्थित खोकनाको यस पुरातात्त्विक एवं ऐतिहासिक राष्ट्रिय सम्पदाको पुनः निर्माणको शिलान्यासका अवसरमा बागमती प्रदेशसभा सदस्य राजकाजी महर्जन, नगरप्रमुख चिरीबाबु महर्जन एवं वडा अध्यक्ष रवीन्द्र महर्जनले उपस्थित थियो । 

विसं २०७२ साल वैशाख १२ गते गएको भूकम्पले पूर्ण रूपमा क्षति गरेको यस मन्दिरको पुनः निर्माण हुन सकेको थिएन । वडा अध्यक्ष महर्जनका अनुसार प्राविधिक अध्ययन पूरा गर्न र स्रोत र साधन जुटाउन समय लागेकाले पुनः निर्माणमा ढिलाइ भएको हो । उहाँका अनुसार यस मन्दिर पुनः निर्माणका लागि रु ६ देखि ७ करोड लाग्ने अनुमान गरिएको छ । स्थानीय कालिगढको सहयोगमा तीन वर्षभित्र पुनः निर्माण सकाउने लक्ष्य लिइएको छ ।

अध्यक्ष महर्जनका अनुसार खोकनावासीले यस देवीको आराधना गर्दा दुःख, कष्ट निवारण एवं दुर्घटनाबाट बच्न सकिने विश्वास रही आएको छ । शक्तिकी देवीका रूपमा पुजिने यस देवीको मन्दिर परिसरमा अस्विनको शुल्कपक्ष तृतीयाको दिन जात्रा शुरु भई नौ दिनसम्म जात्रा लाग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button