तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकामा मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालन, १४ युवाले पाए सहुलियत कर्जा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले ‘मेयर उद्यमशीलता विकास कार्यक्रम’ सञ्चालन गरेको छ । नगरपालिकाले चालु आर्थिक बर्ष देखि मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रमका लागि गत आर्थिक बर्ष ०७६/०७७ कार्तिकमा नगरपालिकाले नेपाल बैङ्क लिमिटेडसँग बेरोजगार युवाहरूलाई उद्यमशीलता बनाउनका लागि सहुलियत ऋण उपलब्ध गराउने सम्झौता गरेको थियो । 

नगरका बेरोजगार युवाका लागि मेयर उद्यमशीलता विकास कार्यक्रम मार्फत सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि नगरपालिका र बैंकबीच भएको सहमति १० महिनापछि कार्यान्वयनमा आएको छ । भीमदत्त नगरपालिकाले छनौट गरी बैङ्कलाई सिफारिस गरेका ३८ जना युवा मध्ये पहिलो चरणमा १४ युवाले शून्य ब्याजदरमा सहुलियत कर्जा पाएका छन् । 

भीमदत्त नगरपालिका सामाजिक विकास अधिकृत गोमती अवस्थीले मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत नगरपालिकाले आव्हान गरेको सहुलियत कर्जा अन्तर्गत आव्हान गरेको आवेदन अनुसार गत आर्थिक वर्षमा २ सय ६९ फारम भरेका थिए । जसमध्ये नगरपालिकाले उनीहरूलाई तालिम, फिल्ड भिजिट अनुगमन गरेर बैकलाई ३८ जनालाई सिफारिस गरेको थियो । सामाजिक विकास अधिकृत अवस्थीले नगरपालिकाबाट सिफारिस भएका मध्ये १४ जना मात्रै छनौट भएको बताउनुभयो । पहिलो चरणमा १४ जना युवाले सहुलियतमा कर्जा पाएका छन् । दिपेश केरा खेती फर्मका सचांलक देविसरा खडायतले २ लाख ५० हजार, रोजी पोल्टी फर्मका सञ्चालक प्रेम विष्टले ४ लाख ९० हजार बाँकी १२ जना युवाले ५ लाखका दरले सहुलियत कर्जा पाएका छन् । 
नेपाल बैङ्क लिमिटेड महेन्द्रनगर शाखाका प्रबन्धक महेशराज जोशीले नगरपालिकाबाट सिफारिस भएर आएका युवा उद्यमीका लागि जिरो ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइएको बताए । उनका अनुसार १४ जनालाई ६७ लाख ४० हजार कर्जा वितरण गरिएको छ । युवा उद्यमीका लागि बैकले लिँदै आएका ५.७३ प्लस २ गरी ७.७३ प्रतिशत ब्याजदर मध्ये ५० प्रतिशत राष्ट्र बैकले र ५० भीमदत्त नगरपालिकाले २.७५प्रतिशत तिर्ने भएपछि ऋणीले शून्य ब्याजदरमा कर्जा पाएको बताउनु भयो । 

भीमदत्त नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत सहुलियतमा ऋण भएकाहरूले खुसी व्यक्त गरेका छन् । बिना ब्याज बिना धितो ऋण पाएको भन्दै उनीहरूले पाएको रकमलाई उद्यमशीलतामा प्रयोग गर्ने बताउनुभएको छ ।

बेरोजगार युवा युवतीले उद्यम बन्नका लागि ५ लाखसम्म ऋण बिना धितो र ब्याजमा सहुलियतमा पाएका छन् । पुरुषका लागि ३.५ प्रतिशत नगरपालिका र ५ सरकारले ब्याज बेहोर्छ, भने महिलाका हकमा ६ प्रतिशत सरकार र २.८ प्रतिशत नगरपालिकाले बेहोर्छ । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले नगरका बेरोजगार युवाका लागि आत्मनिर्भर बनाउन सहुलियत कर्जा कार्यक्रम ल्याएको बताउनुभएको छ ।

कर्जा प्रवाह गैर कृषि, कृषि, उद्यमशीलता प्रवर्द्धनका लागि भएको बताउँदै मेयर विष्टले एकिकृत ब्याज अनुदान दिइने बताउनु भयो । उद्यम प्रवर्द्धन निर्देशिका र मेयर उद्यमशीलताका निर्देशिका अनुरूप कर्जा प्रवाह गरिएको बताउनुभयो । कृषि सम्भावना बोकेको नेपालमा कृषि पशुपालन, व्यवसायीकरण गर्दै आयात घटाउने, रोजगारी बनाउने र निर्यातका लागि कार्यक्रम ल्याएको बताउनु भयो । आज सहुलियत कर्जाका लागि छनौट भएका युवा उद्यमीलाई एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button