तपाईँ सुन्दै हुनुहुन्छः

राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीले मनाए तीज

सप्तरी । सप्तरीको राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले तीज मनाएका छन् । 

तीज महोत्सव मूल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै मङ्गलवार कारागार पुग्नुभएकी तीज महोत्सव समितिकी संयोजक पुनम पोखरेलले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टीका लगायतको शृङ्गारका सामान दिएर तिजको दर मनाएका हुन । 

त्यसअघि कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै शृङ्गारका सामान प्रदान गरिएको थियो ।

 व्यवस्थापन उपसमितिकी संयोजक अनिता देवकोटाले भन्नुभयो– “वर्ष दिनको पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तिज मनाउन नपाएका महिलाहरूसँग खुसी साटासाट गर्न कार्यक्रम गरिएको हो ।”

जेललाई सुधार केन्द्रका रूपमा लिँदै भविष्यमा समाजमा पुन स्थापित हुने गतिविधिमा संलग्न हुन समितिका पदाधिकारीहरूले शुभकामना दिनुभएको थियो । यस्ता कार्यक्रमले शुभकामना आदानप्रदानका साथै रचनात्मक क्रियाकलापमा प्रोत्साहन गर्ने र सकारात्मक भावनाको विकास गर्ने जेलर सुमन कोइरालाले बताउनुभयो । 

जेल जीवन बिताउन बाध्य महिलाहरूसँग सामाजिक व्यक्तिहरूले शुभकामना साटासाट गर्दा एक्लोपन हटेको महसुस हुने उहाँको भनाई रहेको छ ।

चाडपर्वमा घर–माइतको यादले सताउने र खिन्न हुनुपर्ने अवस्थामा कारागारमा रहेका महिलालाई सम्झेर आएकोमा महिला कैदीबन्दीले धन्यवाद दिएका थिए । अघिल्ला वर्षहरूमा तिजका बेला निन्याउरो भएर बस्नुपरेकोमा यस वर्ष कारागारभित्र रहेका महिलाहरूलाई पनि सम्झेर आएकोमा कारागारकी महिला चौकीदारले खुसी व्यक्त गर्नुभयो । 

अघिल्ला वर्षहरूमा महिला कैदीबन्दीको तीज खल्लो हुने गरेको र तीजका बेला खिन्न हुनुपरेको उहाँले बताउनुभयो ।

“पर्खालभित्र रहेका कैदीबन्दी महिला दिदी–बहिनीको मुहारमा खुसी ल्याउन सम्झेका हौँ,” 

समितिकी कोषाध्यक्ष ललिता कर्णले दर खान र शृङ्गारको समान पाउनुभन्दा हामीसँगको भेटघाटले महिला कैदीबन्दी बढी खुसी भएको अनुभव गरेको बताउनुभयो । उहाँले कारागारभित्र रहेका कैदीबन्दीको समस्या बुझ्न बेला–बेलामा विभिन्न सङ्घ–संस्थाहरू जानुपर्ने समेत बताउनुभयो । 

समितिले बिहीबार राजविराजमा मौलिक गीत, नृत्यसहितको प्रतियोगितात्मक तिज महोत्सव आयोजना गरिरहेको छ ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेल, अधिवक्ता मनु खनाल, मनोविमर्शकर्ता रञ्जना चौधरी, सामाजिक कार्यकर्ता रिया राय सञ्चेती लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button