मेलम्ची नगरपालिकाका विद्यालयहरूमा साझा प्रतिबद्धता पत्र अनुमोदन

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका विद्यालयहरूले साझा प्रतिबद्धता पत्र अनुमोदन गरेका छन् ।
कोरोना महामारीमा शिक्षाका सवाल र स्थानीय सरकारको भूमिका विषयक छलफल अन्तरक्रिया कार्यक्रममा सो पत्र अनुमोदन भएको हो ।
कार्यक्रम महिला आत्मनिर्भरता केन्द्र, मेलम्ची नगरपालिका शिक्षा शाखाको सहकार्य र शिक्षाका लागि राष्ट्रिय अभियान (एन सी एल) को आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा शिक्षालाई कोभिडले पारेको असर, विद्यालयले बेहोर्नु परेको कठिनाइ र चुनौतीको बारेमा छलफल गरी शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिएल) का जिल्ला संयोजक हर्क तामाङले साझा प्रतिबद्धता पत्र तयार गर्नुभएको थियो ।
सो पत्रमा गुणस्तरीय शिक्षा, शिक्षामा पारदर्शिता हुनुपर्ने, आवश्यक जनशक्तिको व्यवस्था गरिने, शिक्षक र विद्यार्थी दुवैले कडा अनुसारको पालना गर्नुपर्ने, शिक्षकलाई अभिवृद्धि गरी अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिने, नमुना विद्यालय बनाउने कुरामा जोड दिने, शिक्षालाई बजेटको आधारमा प्रथम प्राथमिकतामा राख्नुपर्ने लगायतका विषयहरू समेटिएको छ ।
पत्रमा सहभागी सबैले हस्ताक्षर गरी सहमति जनाएका छन् ।
कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल, प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धिताल, शिक्षा शाखा प्रमुख सुदिन राज पोखरेललगायत मेलम्ची नगरपालिकाको अधिकांश विद्यालयहरूको प्रधानाध्यापक र केही विद्यालयको व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो ।
प्रमुख अर्यालले कोरोना महामारीले मात्र नभई विपद्ले पनि शिक्षालाई असर गरिरहेकाले विपद् न्यूनीकरणमा विद्यालय र अभिभावकले ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै, मेलम्ची नगरपालिका उपप्रमुख भगवती नेपालले दिवा खाजालगायत अन्य थप चुनौतीका लागि सम्बन्धित निकायसँग बैठक बसी निर्णय गरिने बताउनुभयो ।
साथै उहाँले सबै एकताबद्ध भएर अगाडि बढेमा मात्र मेलम्ची नगरको समग्र शिक्षामा सुधार आउने कुरामा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्